अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग अगाडि बढाउने प्रस्ताव पारित, डेमोक्रेटिक सांसद समेत विभाजित


वासिङटन – अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिक भएको छ ।

प्रतिनिधिसभामा २३२ जनाले प्रस्तावका पक्षमा मतदान गरेका छन् भने १९६ जनाले विपक्षमा मतदान गरेका छन् । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा भएको मतदान होइन, यो केवल महाअभियोग प्रकृयालाई औपचारिक रुपमा अगाडि बढाउनका लागि भएको मतदानमात्र हो ।

यो प्रस्ताव पारित भएपछि ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धान निरन्तर हुनेछ । संकल्प प्रस्तावमा उल्लेखित प्रोटोकल अनुशार अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।प्रतिनिधिसभामा भएका मतदानमा दुईजना डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग प्रकृया अगाडि बढाउने प्रस्तावबिरुद्ध मतदान गरेका छन् । न्युजर्सीका सांसद जेफ भ्यान ड्रिउ र मिनेसोटाका सांसद कोलिन पिटरसनले प्रस्तावबिरुद्ध मतदान गरेका हुन् । कुनै पनि रिपब्लिकन सांसदहरुले प्रस्तावका पक्षमा मतदान गरेनन् ।

प्रतिनिधिसभाका सभामुखले मतदान नगर्ने परम्परा रहेपनि न्यान्सी पेलोसीले भने महाअभियोग प्रस्ताव अगाडि बढाउने पक्षमा मतदान गरेकी छिन् । संसदमा भएको मतदान लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै ‘अमेरिकी इतिहासको सबैभन्दा ठूलो चुडेको शिकार’ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement