काठमाण्डु – पछिल्ला दुई वर्षमा अमेरिका र भारतबीचको सम्बन्ध पूर्ण रूपमा बदलिएको छ। यो आफैमा निकै चकित पार्ने घटना हो। दुई वर्षअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा निकै उत्साहपूर्वक स्वागत गरिएको थियो।
अमेरिकी संसदमा मोदीको भाषणलाई तालीको गडगडाहटले सम्मान गरिएको थियो। अनेक हिसाबले विश्व विभाजित भइरहेको परिदृश्यमा भारत–अमेरिका एक विश्वासिलो साझेदार भएको सन्देश प्रवाह भएको थियो।
पूर्ववर्ती राष्ट्रपति जो बाइडनले दुई रणनीतिक कारणले मोदीलाई खुलेर स्वागत गरेका थिए। पहिलो, भारतले युक्रेनमा रूसको आक्रमणबारे स्पष्ट र कडा धारणा लिओस भन्ने अमेरिका चाहन्थ्यो। दोस्रो, भारतलाई चीनको बढ्दो प्रभावको सामना गर्ने गठबन्धनमा सामेल गराउनु थियो।
दुई वर्षअघि भारत अमेरिकाको केवल साझेदार नभएर एशियामा लोकतन्त्रको मजबुत स्तम्भको रूपमा चित्रित गरिएको थियो।
तर अहिले परिस्थिति पूरै फेरिएको छ। पछिल्लो व्यापार युद्धले अल्पकालमा भारतलाई नोक्सान पुर्याउला, तर यसबाट अमेरिका चीनविरुद्धको आफ्नो एक सशक्त साझेदार गुमाउन सक्ने देखिएको छ। ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार महसुल लगाउने घोषण गरेका छन्। भारत सरकारले यसलाई अनावश्यक र तर्कहीन भन्दै टिप्पणी गरेको छ ।
भारतीय निर्यात महासंघले अमेरिकाको यो निर्णयलाई अत्यन्तै अचम्मलाग्दो भनेको छ। दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार भारतको अमेरिका तर्फको निर्यात ४०–५० प्रतिशतसम्म घट्न सक्छ।
बेइजिङस्थित राजनीतिशास्त्रका प्राध्यापक हुआङ हुआ भन्छन्, ‘ट्रम्पको भन्सार नीति दूरदर्शी छैन। यसले भारतलाई हानी गर्छ, तर अमेरिकालाई झनै बढी नोक्सान हुन्छ।’ उनले भारत र चीन मिलेर अमेरिकी दबाबको सामना गर्न सक्नुपर्ने सुझाव दिन्छन् ।
हुआङ भन्छन्, ‘भारतले नोक्सान बेहोर्नेछ। तर अमेरिकाले बढी नोक्सान बेहोर्नेछ किनभने मलाई लाग्छ ट्रम्पको विदेश नीति भारततर्फ गलत दिशामा गइरहेको छ।’
उनका अनुसार यसले भारतलाई चीनको नजिक ल्याउन सक्छ। हुआङले भविष्यमा चीन र भारत अमेरिकी दबाबको सामना गर्न एकसाथ उभिनेछन्।
यसैबीच, प्रधानमन्त्री मोदी शंघाई कोअपरेशन अर्गनाइजेशनको सम्मेलनमा चीन जान सक्ने अनुमान छ। यस्तो अवस्थामा राष्ट्रपति सि जिनपिङसँग एउटै मञ्च साझा गर्नुले भारत दबाबमा नझुक्ने मुलुक हो भन्ने सन्देश प्रावाहित हुनेछ।
अब ट्रम्पको दोस्रो कार्यकालमा भारतलाई ‘रेड कार्पेट’ स्वागतको अपेक्षा गर्न कठिन देखिन्छ। ब्राजिलपछि अब भारतमाथि पनि ५० प्रतिशत भन्सार दर लागु भएको छ।
ट्रम्प भन्छन्, ‘भारतले रूसी तेलको आयात निरन्तर जारी राखेकाले अमेरिका रूसलाई अलग राख्न असफल हुँदैछ ।’
ट्रम्पले राष्ट्रपति भएपछि २४ घण्टाभित्र युक्रेन–रूस युद्ध रोकिने घोषणा गरेका थिए । तर सात महिना बित्दा पनि त्यस्तो भएन। अब भारतमाथि भन्सार महसुल थोपरेर त्यो असफलताबाट अन्यत्र ध्यान मोड्न खोजिएको विश्लेषकको भनाइ छ।
प्राध्यापक हुआङ हुआ भन्छन्, ‘ट्रम्पको दबाबमा नपर्न भारत र चीनबीचको सम्बन्ध बलियो बनाउनु उपयुक्त हुनेछ। मोदीको सम्भावित चीन भ्रमणले त्यसतर्फ संकेत गर्न सक्छ।’
यसबिचमा भारतलाई थप चिन्तित बनाउनसक्ने विषय भनेको पाकिस्तानसँग अमेरिकाको बढ्दो नजिकपन हो। पाकिस्तानका लागि भारतका पूर्व राजदूत सिभरवाल भन्छन्, ‘अहिले पनि अमेरिकाले पाकिस्तानसँग लेनदेन आधारित सम्बन्ध बनाइरहेको देखिन्छ।’
त्यसो त, रक्षा, प्रविधि, शिक्षा र गुप्तचर क्षेत्रमा भारत–अमेरिका सम्बन्ध अझै बलियो छ। तर सम्बन्धको आधार सम्मान हो, र अहिले त्यही आपसी सम्मानको परीक्षा भइरहेको छ।
विश्लेषकहरूका अनुसार यदि ट्रम्प यही बाटोमा हिँडिरहे भने उनी अमेरिका लागि एउटा यस्तो साझेदार गुमाउन सक्छन् जसले विश्व शक्तिको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
भारतले चीनप्रति झुकाव राखे पनि नराखेपनि, उ अब एउटा स्वतन्त्र र सन्तुलित धारणा लिन बाध्य हुनेछ । त्यतिबेला अमेरिकाको प्रभाव घट्न सक्छ। त्यसैले अहिलेको अवस्थामा बल ट्रम्पको कोर्टमा छ।




प्रतिक्रिया