काठमाण्डु – सन् १९१७ मा भएको रूसी क्रान्तिका साक्षी रहेका अमेरिकी पत्रकार जान रिडले आफ्नो संस्मरणात्मक पुस्तकको शीर्षक राखे–‘जब संसार दश दिनसम्म हल्लियो ।’
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि भने १० दिन पनि अधिक भयो । उनीहरू दुबैले एक हप्तामै संसारलाई हल्लाइदिएका छन् । ट्रम्प–पुटिनबीच १२ फ्रेब्रुवरीमा भएको फोन संवादले दुई शक्तिशाली नेताको सम्बन्धमा मात्र सुधार ल्याएको छैन, संसारमै हलचल ल्याइदिएको छ ।
दुई शक्तिशाली नेताबीच एकातर्फ सम्बन्ध सुधारमा प्रगति भइरहेको छ भने अर्कोतर्फ अमेरिका र युरोपबीचको सम्बन्धमा न्यानोपन घटिरहेको छ ।
बितेको हप्ता, विश्वका परम्परागत सहयोगिहरूबीच तनाव बढेको छ भने युरोप र युक्रेनलाई अमेरिकी कदमको तीखो आलोचना गर्न बाध्य पारेको छ । यस्तै युरोपको सुरक्षाका विषयमा चासो बढेको छ भने रूसको अवस्था बलियो बनेको छ । बितेको हप्ता अमेरिका र रूसको अन्र्राष्ट्रिय राजनीति बिना कुनै अवरोध र बिना कुनै मूल्य चुकाउँदै बलियो अवस्थामा पुगेको छ ।
बुधवार अधिकांश रूसी समाचारत्रपत्रमा टेबुलको आमने–सामने बसेका ट्रम्प र पुटिनको तस्बिर र युक्रेन युद्ध समाप्त गर्ने उनीहरूको बचनवद्धतासहितको समाचारले भरिएको थियो ।
रूसले युक्रेन युद्धका कारण उसलाई बर्बाद गर्ने युरोपेली प्रयास असफल भएको आफ्ना जनता र विश्वलाई देखाउन चाहन्छ । पुटिन समर्थित रूसी टेबलायड पत्रिका मास्कास्की कामसामोलेट्सले लेखेको छ, ‘ट्रम्पलाई थाहा छ कि उनले रूसलाई महत्व दिनुपर्छ । किनभने अमेरिकारले त्यस्तो पक्षसँग सम्झौता गरिरहेको छ, जसले युक्रेन युद्ध जितिरहेको छ । निश्चय पनि अमेरिकाले रूसलाई महत्व दिनै पर्छ र यसको मूल्य अमेरिकाले होइन बरु युक्रेन र युरोपले चुकाउनुपर्छ ।’
जानकारहरूका अनुसार अमेरिका र रूस अर्थात् ट्रम्प र पुटिन राम्रो मित्र हुने र युक्रेन युद्धलाई समाप्त गर्न सक्नेछन् भन्ने विषयमा युरोप र युक्रेनलाई अहिले पनि शंका छ ।
कतिपय टिप्पणीकारहरू भन्छन्, ‘ट्रम्प व्यापारी हुन् । उनले पैसा कमाउन मात्र जान्दछन् । उनले केही गर्न सक्छन् होला जस्तो लाग्दैन ।’ त्यस्तै अर्को टिप्पणीकार भन्छन्, ‘सायद सऊदी अरबमा अमेरिकी र रूसी अधिकारीहरूबीच भएको छलफलले दुई देशबीच दूरीमात्र कम गरेको छैन, अन्तर्राष्ट्रिय राजनीतिको परिदृश्य पनि बद्लेको छ ।’
ट्रम्प र पुटिनबीच भएको फोनवार्ता पछि दुई देशका उच्च अधिकारीहरूले युक्रेन युद्ध समाप्त गर्ने विषयमा साऊदी अरबमा छलफल गरेका थिए । छलफल सकारात्मक रूपमा सम्पन्न भएपछि दुई शक्तिशाली नेताहरूबीच भेटघाट हुने सम्भावना पनि बढेको छ ।




प्रतिक्रिया