अमेरिकाले रूसबाट किनेको अलास्कामा हुँदैछ ट्रम्प-पुटिन ऐतिहासिक वार्ता

अमेरिकाले रूसबाट किनेको अलास्कामा हुँदैछ ट्रम्प-पुटिन ऐतिहासिक वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा अमेरिका र रुसले शुक्रबार शिखरवार्ता गर्दैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर वार्ता अलास्कामा हुन लागेको हो । ४ वर्षपछि दुई देशका शीर्ष नेताबीच प्रत्यक्ष भेटघाट हुन लागेको हो ।

अलास्का त्यो क्षेत्र हो, जुन रूसले सन् १८६७ मा अमेरिकालाई बेचेको थियो ।

१८६७ मा अमेरिकाले रूसबाट ७२ लाख डलरमा अलास्का किनेको थियो । रुसी नियन्त्रणमा रहेकाे अलास्का १८६७ मा अमेरिकाको राज्य बनेकाे थियाे । यसले गर्दा यो बैठकलाई ऐतिहासिक रुपमा हेरीएकाे छ ।

यसअघि अन्तिम पटक मार्च २०२१ मा अलास्का प्रमुख अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्रबिन्दु बनेको थियो । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ कूटनीतिक तथा राष्ट्रिय सुरक्षा टोलीले एन्कोरेजमा आफ्ना चिनियाँ समकक्षीसँग भेट गरेका थिए ।

शुक्रबारको बैठकमा दुई नेताले केही समय एक्ला एक्लै ( अनुवादकको उपस्थितिमा ) छलफल गर्नेछन् । ट्रम्प र पुटिनबीच यसअघि सन् २०१८ मा हेलसिन्की र सन् २०१७ मा जर्मनीमा भएको भेटमा पनि उच्च पदस्थ सहयोगीहरूलाई बाहिर राखिएको थियो । ती बैठकहरूका गोपनीयता र पारदर्शिताबारे अमेरिकी राजनीतिमा ठूलो विवाद उठेको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले ट्रम्प–पुटिन वार्ता अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा हुने जनाएको छ ।द्विपक्षीय बैठकको घोषणा गर्दा ट्रम्पले यो ठाउँ धेरै कारणले धेरै लोकप्रिय भएको बताएका थिए ।

दुई नेतालाई अलास्काको सबैभन्दा ठूलो सैन्य अड्डा एल्मेनडोर्फ–रिचर्डसनको संयुक्त अड्डामा स्वागत गरिनेछ । ६४ हजार एकडमा फैलिएको यो अड्डा आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीको एक महत्त्वपूर्ण केन्द्र हो ।

ट्रम्पले आफ्नो अलास्का भ्रमणपछि रूसको पनि भ्रमण गर्न सक्छन् ।यद्यपि रुस र युक्रेन दुवैले युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । तर उनीहरूका सर्त पारस्परिक रूपमा स्वीकार्य छैनन् ।

ट्रम्पले आफू युक्रेनका लागि केही (रूस–कब्जा गरिएको) भूभाग फिर्ता प्राप्त गर्ने प्रयास गर्ने बताएका छन् । तर केही साटफेर वा भूमि परिवर्तन गर्नुपर्ने हुन सक्ने ट्रम्पको भनाइ छ ।

युक्रेनले क्रिमियासहित रूसले कब्जा गरेको कुनै पनि भूभागलाई मान्यता नदिने स्पष्ट पारेको छ । रूसले २०१४ मा क्रिमियालाई गैरकानूनी रूपमा कब्जा गरेको थियो भने हाल डोनबास क्षेत्रको अधिकांश भाग उसकै नियन्त्रणमा छ ।

अमेरिकी अधिकारीहरू पुटिनले अमेरिकी भूमिमा बैठक गर्न सहमति जनाउँदा केही हदसम्म अचम्मित र सन्तुष्ट भएको जनाएका छन् । ट्रम्पले पनि यो कदमलाई ‘रूसी राष्ट्रपति पक्षबाट आएको सम्मानको संकेत’का रूपमा व्याख्या गरेका छन् ।