काठमाण्डु – युक्रेनको शान्तिबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबारअमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्।
महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता हुँदैछ ।
ट्रम्प र पुटिनको भेटवार्ता मुख्यतः युक्रेन युद्धका विषयमा केन्द्रित हुने अपेक्षा छ ।
वार्ता सकिएपछि ट्रम्प आफैले पुटिनसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने बताएका हुन्।
अमेरिकी र रूसी राष्ट्रपतिबीच २०२१ देखि प्रत्यक्ष भेटवार्ता भएको छैन।
२०२१ को जुनमा तत्कालीन राष्ट्रपति जो बाइडेनले पुटिनसँग जेनेभामा भेटवार्ता गरेका थिए। त्यसको ८ महिनापछि रूस-युक्रेन युद्ध सुरू भएको थियो। पुटिन र जेलेन्स्की २०१९ यता भेटेका छैनन्। सकेसम्म त्रिपक्षीय भेटवार्ता गर्ने पक्षमा ट्रम्प रहेको भनेर रोयटर्सले लेखेको छ।
यो बैठकमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको सहभागी हुने अपेक्षा गरिएको छैन । ट्रम्पले एक साताअघि अलास्कामा पुटिनसँग भेटवार्ता तय भएको घोषणा गरेका थिए । साथै त्यही दिन राष्ट्रपति ट्रम्पले युक्रेनविरुद्धको आक्रमण रोकेर युद्धबिराम नगरे रुसविरुद्ध थप अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
ट्रम्पको आग्रहमा रुस र युक्रेनबीच भएका तीन पटकका छलफलले यी दुई देशबीच युद्ध अन्त्य गर्न सकेको छैन । अमेरिकाको अलास्का राज्यमा हुने भनिएको ट्रम्प-पुटिन वार्तालाई चासोका साथ हेरिएको छ ।
बीबीसीका अनुसार अमेरिका र रूसका राष्ट्रपतिहरूबीच वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गर्ने छन्।
यसैबीच भेटवार्तामा ट्रम्प र पुटिनका प्राथमिकता भने अलग अलग रहेको विश्लेषण पनि भइरहेको छ।
पुटिन युक्रेनको भूमि कब्जा गर्न चाहन्छन् भने ट्रम्प आफूलाई विश्वभरका द्वन्द्व समाधान गर्ने नेताका रूपमा उभ्याउन चाहन्छन्।साथै यी नेताका अन्य चाहना पनि छन्। पुटिनका हकमा अन्तर्राष्ट्रिय मान्यता एउटा प्रमुख चाहना हो। पश्चिमा शक्तिहरूले एक्ल्याएको रुस फेरि विश्वमञ्चमा फर्केको छ।
विश्लेषकहरू त पुटिनका लागि ट्रम्पसँगको शिखर बैठक आफैमा जित भएको तर्क समेत गरिरहेका छन्। त्यसमाथि बैठकस्थलका रूपमा अलास्का छानिनु पनि रुसको जित हो।
किनकि रुसको सीमाबाट अलास्का केवल ९० किलोमिटर टाढा छ। पुटिनलाई त्यहाँ पुग्न कुनै शत्रुराष्ट्र भएर जानु पर्दैन। त्यस्तै यो युक्रेन र युरोपबाट निकै टाढा छ।
अझ महत्त्वपूर्ण कुरा त अलास्का रुसले नै अमेरिकालाई बेचेको थियो।
ट्रम्पको प्राथमिकता भने बेग्लै छ। २०२४ को चुनावअघि उनले युक्रेन युद्ध तुरुन्तै समाप्त गर्ने बताएका थिए। त्यो वाचा पूरा नभएका कारण राष्ट्रपति बनेयता उनले युक्रेन र रुसविरुद्ध पालैले आक्रोश पोखिरहेका छन्।




प्रतिक्रिया