काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शनिबार अलास्कामा भएको बहुचर्चित र बहुप्रतिक्षीत बैठकलाई महत्तवपूर्ण मानिएको छ ।
बैठकमा युक्रेन–रुस युद्धकाबारे कुनै सम्झौता हुन नसकेपछि पनि बैठकलाई महत्त्वपूर्ण र उपल्बधीमूलक ठानिएको छ ।
ट्रम्प–पुटिन तीन घण्टा लामो वार्तापछि दुई नेताले सञ्चारमाध्यम सामु संयुक्त वक्तव्य दिए तर कुनै प्रश्नोत्तरमा भने सहभागी भएनन्।
अलास्काको एङ्करिजमा रहेका पत्रकारहरूले अमेरिका र रुसका निम्ति यो वार्ताको अर्थ र युक्रेन युद्धमा अब के होला भनेर विश्लेषण गरेका छन्।
वार्ता पछि कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने ट्रम्पको प्रारम्भिक टिप्पणी पनि युद्धविराम सम्झौता वा कुनै सहमति नभएको स्वीकार गर्ने घुमाउरो तरिका थियो।
पुटिनसँगको वार्तामा उल्लेख्य प्रगति गरेको ट्रम्पले बताए पनि उनले त्यसबारे कुनै विस्तृत विवरण दिएनन्। जस कारण यो पनि बाँकी विश्वको अनुमानको विषय हो।
देशविदेशका सयौँ पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन कक्षबाट बाहिरिनुअघि ट्रम्पले कुनै पनि प्रश्नको जबाफ दिएनन्। तर उनले यति मात्र भनेका थिए, ‘हामी त्यहाँसम्म पुगेका छैनौँ।’ उनको अर्थ सहमतिसँग थियो ।
बैठकबाट कुनै उपलब्धि हासिल हुने अपेक्षामा लामो यात्रा गरेका ट्रम्पले अन्ततः अस्पष्ट जबाफ मात्र दिए।
ट्रम्पले भविष्यका वार्ताहरूलाई कमजोर पार्ने कुनै एकपक्षीय सहमति गर्ने अमेरिकाका युरोपेली सहयोगी देश र युक्रेनी अधिकारीहरूको चिन्तामाझ ट्रम्पले यो वार्ता तय गरेका थिए।
आफूलाई शान्ति स्थापक र सम्झौता गराउने छविको व्यक्ति देखाउन रुचाउने ट्रम्पले अलास्कामा यी दुवै कुरा हात पार्न सकेनन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेतसँगै राखेर तत्काल अर्को वार्ता हुने संकेत पनि यसले दिएको छैन। तर मस्कोमा पुटिनसँग अर्को बैठक हुनेमा पनि आशंका भने जन्माएको छ।
यसअघि असफल हुने सम्भावना २५ प्रतिशत मात्रै रहेको दाबी गरिएको यो वार्ताबाट कुनै पनि ठोस सहमति नजुट्दा ट्रम्पको आन्तरिक र अन्तर्राष्ट्रिय छविमा दाग चाहिँ लागेको छ।
आफ्नो भनाइ राखेर कुनै पनि प्रश्नको जबाफ नदिई राष्ट्रपति पुटिन र ट्रम्प मञ्चबाट बाहिरिँदा हलमा उपस्थितहरू अचम्ममा परेका थिए।
पत्रकारहरूले सोधिरहेका प्रश्नको बेवास्ता गर्दै रुसी प्रतिनिधिमण्डलका सदस्यहरू पनि तत्कालै सम्मेलन कक्षबाट बाहिरिएका थिए।
युक्रेन युद्धबारे पुटिन र ट्रम्पबीच अझै पनि गम्भीर मतभेदहरू रहेका हुनसक्ने स्पष्ट संकेत यसले दिएको छ।
तर वार्ताअघिको वातावरण पूरै फरक थियो। राष्ट्रपति ट्रम्पले पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरेका मात्रै थिएनन्, सम्मानित पाहुनाको व्यवहार पनि गरेका थिए।
विश्वकै सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिसँग एउटै मञ्चमा देखिने मौकासँगै रुसी राष्ट्रपतिले भूराजनीतिक चर्चामा आउने मौका पनि पाए।
युक्रेनमा रुसले जारी राखेको युद्ध अन्त्य गर्नका लागि पुटिनलाई मनाउन नसकेका ट्रम्पले अब कस्तो प्रतिक्रिया जनाउलान् ? त्यो हेर्न बाँकी नै छ।
यसअघि रुसविरुद्ध कडा चेतावनीसमेत दिएका ट्रम्पले कुनै कदम चाहिँ चालेनन्। पुटिनसँगको वार्तामा ठोस उपलब्धि हासिल नभएपछि सबैको चासो एउटै छ, अब ट्रम्पले के गर्लान्?
बैठकपछि फैलिएको अनिश्चय पनि चिन्ताजनक छ। अब के हुन्छ र के रुसी हमला निरन्तर जारी रहने छन् ? भन्ने प्रश्नको जबाब पनि आएको छैन ।




प्रतिक्रिया