राष्ट्रपति ट्रम्पको विभेदकारी ट्वीट बिरुद्ध प्रतिनिधिसभामा भारीमतले निन्दाप्रस्ताव पारित

राष्ट्रपति ट्रम्पको विभेदकारी ट्वीट बिरुद्ध प्रतिनिधिसभामा भारीमतले निन्दाप्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीट र अभिव्यक्ति विभेदकारी भएको भन्दै त्यसको निन्दास्वरुप संसदको तल्लो सदनमा मतदान भएको छ ।निन्दाप्रस्तावका पक्षमा २४० मत खसेको छ भने विपक्षमा १८७ मत खसेको छ । ४ जना रिपब्लिकन र एकजना स्वतन्त्र सांसदहरुले पनि ट्रम्पको अभिव्यक्तिबिरुद्ध मतदान गरेका छन् ।

केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ।ती महिलाहरू पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए।

प्रगतिशील धारका चार महिला सांसदसँग पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। ट्रम्पको भनाइको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ती सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन्। अर्की सांसद इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।

ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्। तर केही हप्तायता पेलोसी र उनीहरूबीच सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको थियो। पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्। उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको आलोचना गरेकी छन्। संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन्।

ट्रम्पको उक्त ट्वीटको चौतर्फी आलोचना भएको छ। नेता बर्नी स्यान्डर्सले पनि ट्रम्प जातिवादी भएको आरोप लगाएका छन्। न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्ने उनले लेखेका छन् । ट्विटरमा प्रतिक्रिया दिँदै ट्रम्पले डेमोक्र्याटहरूले अमेरिकाबारे नराम्रो कुरा गर्ने मानिसलाई समर्थन गर्नु दुखद भएको टिप्पणी गरेका छन्।

उनीहरूले आफ्ना विरोधीलाई जातिवादी भएको आरोप लगाउने गरेको ट्रम्पले लेखेका छन् ।‘ यदि डेम्रोक्याट्रिक पार्टीले त्यस्तो भाषा र गतिविधिको समर्थन गरिराख्छ भने २०२० को निर्वाचनमा भेटौँला।’ यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले ट्रम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्। ती सांसदहरूले ट्रम्पले मूल विषयबाट ध्यान अन्तै मोड्न आफूहरूमाथि त्यस्तो टिप्पणी गरेको आरोप लगाएका छन्।