काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग रकम कटौती गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी एकताका लागि आह्वान गरेका छन् । ट्रम्पको कदमको सर्वत्र निन्दा भइरहेको बेला राष्ट्रपति सीले प्रसंग उल्लेख नगरी घुमाउरो तरिकाले भाइरसले कुनै सीमा र जातिको भेदभाव नगर्ने सन्देश ट्रम्पलाई दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका चिनफिङले क्युउसी जर्नलको आठौं अंकमा बिहीवार लेख प्रकाशित गर्दै महामारीमा सबैले एकजुट हुनुपर्ने सन्देश दिएका छन् । ‘एकता र सहयोग रोगविरुद्ध सबैभन्दा शक्तिशाली हतियार हो,’ लेखमा सीले भनेका छन् ।
सीले विश्वव्यापी एकता र सहयोगको कुरा गरिरहँदा ट्रम्पले भने डब्ल्यूएचओलाई दिँदै आएको सहयोग पनि रोकेका छन् । ट्रम्पको कदमप्रति डब्ल्यूएचओले खेद प्रकट गर्दै आफ्ना कार्यक्रम प्रभावित हुन नदिने गरी काम गर्ने रणनीति बनाउने जनाएको छ । संकटको बेला चीनसहित विश्व समुदाय डब्ल्यूएचओको साथमा हुनुपर्ने सन्देश समेत राष्ट्रपति सीले दिएका छन् ।
‘कोभिड–१९ को प्रकोप विश्वव्यापी रूपमा फैलिरहेको छ, जसले जीवन र स्वास्थ्यलाई ठूलो खतरा देखाएको छ र विश्वव्यापी जनस्वास्थ्य सुरक्षाका लागि ठूलो चुनौती ल्याइरहेको छ,’ सीको लेखमा उल्लेख छ, ‘यस्तो बेला अन्तर्राष्ट्रिय समुदायले आत्मविश्वास सुदृढ पार्नु, एकताका साथ कार्य गर्नु र सामूहिक प्रतिक्रियामा मिलेर काम गर्नु अपरिहार्य छ ।’
विश्वव्यापी जनस्वास्थ्य आपतकालले मानवताको साझा भविष्यका लागि प्रेरित गरेको सीले जनाएका छन् । ‘आपसी ऐक्यबद्धता र सहयोगका साथ मात्र अन्तर्राष्ट्रिय समुदायले महामारीमाथि विजय हासिल गर्न र मानवताको साझा घरको रक्षा गर्न सक्छ,’ लेखमा उल्लेख छ । मानवताको रक्षाका लागि हुने हरेक साझा कदममा चीनको साथ रहने सीले जनाएका छन् । ‘चिनियाँ सरकारले खुला, पारदर्शी र जिम्मेवार ढंगले कार्य गरेको छ र डब्ल्यूएचओलाई प्रकोपको बारेमा समयमै अपडेट प्रदान गरेको छ,’ लेखमा उल्लेख छ, ‘कोभिड विरुद्धको लडाइँको सबैभन्दा गाह्रो घडीमा चीनले अन्तर्राष्ट्रिय समुदायका धेरै सदस्यबाट सहयोग र समर्थन पाएको छ । चीनले पनि आफ्नो क्षमता अनुसार विश्वव्यापी लडाइँलाई समर्थन गरिरहेको छ ।’
ठूला संक्रामक रोगहरू सबैका शत्रु भएको जनाउँदै सीले अन्तर्राष्ट्रिय समुदायले रोगविरुद्ध लड्न एकजुट हुनुपर्ने आह्वान गरेका छन् । ‘चीनले शीघ्र, निर्णायक र सशक्त प्रतिक्रियात्मक कदम चालेको छ । कोभिड विरुद्धको लडाइँमा ठूलो त्याग गरेको छ । चीनले व्यक्तिको जीवन र स्वास्थ्यको लागि आफ्नो दायित्व पूरा गर्दैछ र विश्वव्यापी जनस्वास्थ्यमा पनि योगदान पुर्याइरहेको छ ।’




प्रतिक्रिया