काठमाण्डु-अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भनाभान भएको छ ।
ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्कीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की गरेका हुन् । ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको’ आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिएका थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने बताए ।
विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो ।
पछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद दुवै पक्षका लागि ठीक नभएको प्रतिक्रिया दिए । त्यस क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताए ।
ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताए । अर्कोतर्फ जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरे ।
ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच तर्कवितर्क भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत तनावमा देखिएकी थिइन् । त्यतिखेर उनले पुर्पुरो र गालामा हात राखेको भिडिओमा देखिन्छ । उनी दुई नेताहरूको नजिकै बसेकी थिइन् ।
दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो ।
भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीमाथि कैयौँ आरोप लगाएका छन् । भनाभनको घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले पनि युक्रेनले शान्ति चाहेको उल्लेख गरेका छन् ।
ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा भएको वादविवादले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का निम्ति महत्तवपूर्ण संकटलाई संकेत गरेको छ ।
दुई नेताहरूबीच ओभल अफिसमा विवाद हुनुअघि पनि आपसी सम्बन्ध राम्रो थिएन । जो बाइडनले सुमधुर बनाएको अमेरिका र युक्रेनबीचको गठबन्धन अहिले धुज्जाधुज्जा हुन पुगेको छ ।
सार्वजनिक रूपमा भएको चर्काचर्कीले नेटो र अमेरिकाबीच देखिन सक्ने एउटा संकटलाई पनि संकेत गरेको छ । युरोपेली राष्ट्रहरूको सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशंका र प्रश्नहरू खडा हुने छन् ।
नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्ने छन् वा छैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न हुने छ ।




प्रतिक्रिया