काठमाण्डु-अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको छ । त्यो वार्ता अर्थपूर्ण हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्की पनि साउदी अरब जाने छन् । तर उनी वार्तामा सहभागी हुने छैनन् । आफूहरू चाँडो र दीर्घकालीन शान्ति हासिल गर्न कार्यरत रहेको उनले भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस–युक्रेन युद्ध अन्त्य गर्न आवश्यक शान्तिका निम्ति प्रारूप पहिल्याउने कोसिस गर्ने बताएका छन् ।
गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो । त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए । लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो ।
युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजेका छन् । युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो ।
शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट छुटहरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाब परेको छ भने युक्रेनी राष्ट्रपतिले किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन् ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको अतिक्रमण गरेको थियो । उसले हाल युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएको छ ।
बिहीवार ब्रसल्समा आयोजित युरोपेली युनियनको आपत्कालीन बैठकमा भाग लिएलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्ट गर्दै साउदी अरबमा अमेरिका–युक्रेन वार्ता हुन लागेको घोषणा गरेका थिए ।
ब्रसल्स बैठकमा युरोपेली नेताहरूले रक्षा खर्च वृद्धिका योजना अनुमोदन गरेका छन् । युद्ध अन्त्यको आवश्यकता स्वीकार गर्ने गरि मस्कोमाथि थप दबाब दिन उनले विश्वसमुदायलाई आह्वान गरेका छन् ।
यो साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रस्ताव गरेको युद्धविरामको योजनालाई पनि जेलेन्स्कीले इङ्गित गरेका छन् । उक्त प्रस्तावित योजनामा हवाई तथा सामुद्रिक क्षेत्रमा युद्धविराम गर्नुका साथै ऊर्जा एवं गैरसैनिक संरचनामा हमला गर्न बन्द गरिनुपर्ने उल्लेख छ ।
रुसले फ्रान्सको प्रस्तावबारे सार्वजनिक टिप्पणी गरेको छैन । बिहीवार पुटिनले मस्कोले यस्तो शान्ति चाहिरहेको जसले हाम्रो देशमा दीर्घकालसम्म शान्तिको निश्चितता गरोस भनेका छन् ।
‘हामीलाई अरूको केही चाहिएको छैन । तर हाम्रो केही पनि छाड्ने छैनौँ,’ उनले भनेका छन् । रुसले सन् २०१४ मा युक्रेनको दक्षिण भागमा रहेको क्राइमिया प्रायःद्वीप आफूमा गाभेको थियो भने युक्रेनको दक्षिणपूर्वमा रहेका थप चार क्षेत्र उसैको भएको दाबी गर्दै आएको छ । तर ती क्षेत्रमा मस्कोको पूर्ण नियन्त्रण छैन ।
ट्रम्पले निर्वाचनकै बेला युद्ध चाँडै टुङ्ग्याइदिने वाचा गरेका थिए । गत महिना अमेरिका–रुसबीच कुनै युरोपेली वा युक्रेनी प्रतिनिधिबिना नै साउदी अरबमा प्रारम्भिक वार्ता भएको थियो ।




प्रतिक्रिया