काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा उनीहरूबीच चर्काचर्की परेको छ ।
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा बहुप्रतीक्षित वार्ता असफल भएको हो । युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए । तर दुई जनाबीच चर्काचर्की परेसँगै उक्त सम्झौता अब असफल भएको छ ।
दुई नेताबीचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द भएको छ ।
बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिएका थिए । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे । जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि ट्रम्पले लगाए ।
ओभल अफिसबाट जारी गरिएको भिडिओमा अमेरिकाका लागि युक्रेनका राजदूत ओक्साना मार्कारोभाले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ । ट्रम्प र जेलेन्स्कीबीच बहस भइरहँदा राजदूत अत्यन्तै तनावग्रस्त देखिएका थिए ।
बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन् । ट्रम्पले भनेका छन्, “बैठकमा धेरै कुराहरू आए । तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ । मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु ।’ ट्रम्पले जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप पनि लगाएका छन् ।
यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि बैठक तनावपूर्ण भयो ।
युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघ जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था सामान्य रहेन ।




प्रतिक्रिया