काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई ‘निरंकुश’को संज्ञा दिएका छन् ।
अमेरिका र रूसबीच साउदी अरबमा मंगलवार भएको प्रत्यक्ष शान्ति वार्ताप्रति असन्तुष्टि जनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रूसी दुष्प्रचारबाट प्रभावित भएको टिप्पणी गरेका थिए ।
युक्रेनबाट ‘रेअर अर्थ’ वर्गमा पर्ने दुर्लभ खनिज पदार्थहतू अमेरिका ल्याउने आफ्नो प्रस्तावको सन्दर्भ उल्लेख गर्दै ट्रम्पले जेलेन्स्कीले सहमति तोडेको आरोप लगाएका छन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबारे लेखेका छन, ‘उनले डरलाग्दो काम गरेका छन् । उनको देश ध्वस्त भएको छ र अनावश्यक रूपमा दशौँ लाख मानिसले ज्यान गुमाएका छन् ।’
त्यसको प्रतिक्रियामा ट्रम्पले जेलेन्स्कीको थप आलोचना गरे । अमेरिकाको फ्लोरिडामा साउदी अरबको आयोजनामा भएको लगानी सम्मेलनमा ट्रम्पले जेलेन्स्कीले यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडनलाई प्रभावमा पारेको आरोप लगाए ।
ट्रम्पको निरंकु भन्ने टिप्पणीको युरोपेली नेताहरूले तत्कालै आलोचना गरेका थिए । जर्मनीका चान्सलर ओलाफ शोल्ट्सले राष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधानिकता अस्वीकार गर्नु गलत र खतरनाक भएको टिप्पणी गरेका छन् ।
यस्तै बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन सम्पर्क गरेर आफूले उनलाई समर्थन गर्ने जनाएका छन् ।
बेलायतले दोस्रो विश्वयुद्धका क्रममा निर्वाचन स्थगित गरेको उदाहरण दिँदै युद्धका समयमा निर्वाचन रोक्नु व्यावहारिक भएको बताएको छ ।
जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सन् २०२४ को मई सम्म थियो । तर सन् २०२२को फेब्रुअरीमा रूसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा सैनिक शासन लागु गरिएको छ । त्यहाँ निर्वाचन स्थगित गरिएको छ ।
स्वीडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पले जेलेन्स्कीबारे गरेको टिप्पणीको आलोचना गरे । जर्मनीकी विदेशमन्त्री आनालेना बेअरबोकले ट्रम्पको प्रतिक्रियालाई हास्यास्पद भएको टिप्पणी गरेकी छिन् ।




प्रतिक्रिया