काठमाण्डु – त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाँभिएका ४ वटा विभागहरूको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।
बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ गरीब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।
आन्दोलन संयोजक मनिष चम्लागाईंले बताएअनुसार केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनुपर्छ । उनले भने, ‘विद्यार्थीहरूमाथि आर्थिक भार हुने निर्णय तत्काल फिर्ता लिनुपर्छ । यदि माग सम्बोधन भएन भने आन्दोलन थप सशक्त बनाइनेछ ।’
अखिल क्रान्तिकारी जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको छ । सो अवधिमा माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी पनि दिइएको थियो ।




प्रतिक्रिया