काठमाडाैंका सडकमा आजबाट सार्वजनिक सवारी साधनमा ‘पिक एण्ड ड्रप’ लागू


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ ।

कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । डङ्गोलका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ ।

डङ्गोलले भने , “रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ।”कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् ।

पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ । यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement