काठमाण्डु – राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका, राजनीति बढी जानेका र दल निर्माणमा बढी सक्रिय भएका समुदाय आज दलहरूको वर्चस्वमा परेको बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरूमा पनि केही खास समुदायको वर्चस्व स्थापित भएको बताए ।
उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रूपमा देखिएको धारणा राखे ।
उनले भने, ‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातीय समुदायहरू निर्णय गर्ने ठाउँमा सहभागिता कम छ । नेपालमा केही समुदाय जो पहिला संघर्ष गरे, राजनीति बढी जाने, दल निर्माणमा बढी सक्रिय भए, आज पनि तिनको वर्चस्व दलहरूमा रहेको छ । उदाउँदै गरेको दलहरूमा पनि केही खास समुदायको वर्चस्व स्थापित भएको छ । सबै दलमा दलित समुदाय, मधेशी, थारु, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रूपमा देखिएको छ ।’
उनले नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा नेपालमा दलित समुदायले चुनाव नै नजित्ने अवस्था रहेको धारणा राखे । थारु, मुस्लिम, जनजाति, मधेशी र आदिवासीहरूले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँमा मात्र निर्वाचन जित्ने अवस्था रहेको उनको भनाई छ ।
‘नेपालको निर्वाचनमा जित्नेहरूको जातको आधारमा विश्लेषण गर्दा परिणामको विश्लेषण हेर्दा नेपालमा दलित समूदायले चुनाव नै जित्ने अवस्था देखिँदैन । महिलाहरू पनि कम जित्नेमा पर्ने रहेछ । थारु, मुस्लिम, जनजाति मधेशी र आदिवासी त्यहाँबाट मात्र चुनाव जित्छ, जहाँ उनीहरूको जनसाख्यिक बाहुत्यता छ । खसआर्य समुदायका पुरुषहरू सातै प्रदेश ७७ जिल्लाबाट जितेको इतिहास छ,’ उनले भने ।
नेपालका सबै पार्टीहरू भित्रको आन्तरिक लोकतन्त्र र समावेशीताको अवस्था कमजोर भएको तर्क गरेका छन् ।




प्रतिक्रिया