घोराही – तुलसीपुरमा न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
उनलाई ब्राउनसुगर लकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले पनि पुष्टि गरे ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।
तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया