तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक पक्राउ

तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक पक्राउ


काठमाडौं – तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका-३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका-६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक १ हजार २ सय डलर तलव र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।