टर्कीको राष्ट्रपतिमा एर्दोआन पुनः निर्वाचित


काठमाण्डु- रेसेप ताइप एर्दोआन टर्कीकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका हुन् । एर्दोआनले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झण्डा फहराएर उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन् ।

उनले भने,‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्‍याैँ । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’ ‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन्’, उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने ।

उता निर्वाचनमा पाराजित प्रतिद्वन्द्वी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् । ‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो । हामी डरको वातावरणमा झुकेका छैनौँ । यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो’, उनले भने ।

एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेका छन् भने विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत ४७.८६ प्रतिशत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement