‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे भाडामा

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे भाडामा


काठमाडौं- यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ । कानुनी अड्चन देखाउँदै विभागले निजी प्रयोजन (रातो नम्बरप्लेट)मा दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न रोक लगाएको हो । तर, सोही प्रयोजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कारपिओ, टाटासुमो, मारुती, अल्ट्रो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन् । विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्र मात्रै हजारको संख्यामा सञ्चालित छन् । उपत्यकाबाहिर भने पाँच हजारभन्दा धेरै चल्ने गरेका छन् । तर, तिनलाई मोटरसाइकल र स्कुटरलाई जस्तै नियन्त्रण गर्ने सोच विभागको छैन ।

विभागका महानिर्देशक लावण्यकुमार ढकालले मोटरसाइकल र स्कुटरलाई जस्तै भाडामा प्रयोग हुने निजी प्रयोजनका चारपांग्रे सवारीसाधन तत्काल नियन्त्रण गर्ने सोच नभएको बताए । उनले भने, ‘रातो नम्बरप्लेटमा दर्ता भएका चारपांग्रे सवारीसाधन पनि भाडामा प्रयोग भइरहेका छन् । कानुनी रूपमा यो अवैधानिक हो । तर, यसलाई नियन्त्रण गर्न तत्काल केही गरिएको छैन । किनकि यस सम्बन्धमा उजुरी परेको छैन । मोटरसाइकल र स्कुटरको हकमा ट्राफिक प्रहरीमार्फत उजुरी आयो । कानुनी पाटो हेर्दा अवैधानिक देखियो । त्यसो हुँदा रोक्ने निर्देशन भयो ।’

उपत्यकाभित्र ‘टुटुल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन् । टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । जावलाखेलमा कार्यालय रहेको टुटलमा मात्रै ३० भन्दा धेरैले प्रत्यक्ष रोजगार पाइरहेका छन् । टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलसँग मात्रै करिब १० हजार ग्राहक आबद्ध छन् । यसबाट दैनिक ३ हजारभन्दा धेरै यात्रुले प्रत्यक्ष सेवा लिइरहेका छन् । यस प्रयोजनमा मात्रै ९ हजार मोटरसाइकल र स्कुटर सञ्चालित भइरहेका छन् । तर, प्रहरीले कानुन नभएको भन्दै पक्राउ गर्न थालेपछि व्यवसायीसहित यात्रुले पाउँदै आएको सेवा संकटमा परेको टुटलका कार्यकारी अधिकृत भट्टले बताए । आजको नयांपत्रिका दैनिकमा समाचार छ।