टीभीएसको नयाँ अपाचे आरटीआर १६० फोरभी सार्वजनिक

टीभीएसको नयाँ अपाचे आरटीआर १६० फोरभी सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले यसलाई आफ्नो सबैभन्दा शक्तिशाली मोटरसाइकल भएको दाबी गर्दै यसमा पहिलोपटक प्रोजेक्टर हेडलाइट, उल्टो दिशातर्फ जडान गरिएको अगाडिको सस्पेन्सन र ५ इन्चको पूर्ण डिजिटल रंगिन डिस्प्ले समावेश गरिएको जनाएको छ ।

काठमाण्डुको सतुंगलमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, मोटरसम्बन्धी समीक्षक, सामाजिक सञ्जालका सामग्री निर्माता तथा मोटरसाइकल पारखीहरूको उपस्थितिमा नयाँ मोडल सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागीहरूका लागि परीक्षण सवारी र विशेष ट्रयाकमा चलाउने व्यवस्था समेत गरिएको थियो ।

कम्पनीका अनुसार ४ दशकभन्दा बढीको रेसिङ अनुभवका आधारमा विकास गरिएको मोटरसाइकलले उच्च क्षमता, आधुनिक प्रविधि र सुरक्षित सवारी अनुभवलाई प्राथमिकतामा राखेको छ । यसमा वर्गकै उच्च मानिने १७.५५ एचपी इन्जिन जडान गरिएको छ । खेल, शहरी र वर्षा गरी ३ प्रकारका सवारी मोडको सुविधा पनि उपलब्ध गराइएको छ ।

कार्यक्रममा कम्पनीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख पेम्यान कारगरले नेपाल युवा तथा उत्साही सवारी चालकहरूको उल्लेखनीय बजार भएकाले नयाँ मोडल सार्वजनिक गर्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले नयाँ मोटरसाइकलले चालकलाई अझ बढी नियन्त्रण, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको अनुभव दिने विश्वास व्यक्त गरेका छन् ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अपाचे ब्रान्डले नेपाली युवामाझ प्रदर्शन, शैली र प्रविधिका कारण बलियो पहिचान बनाएको उल्लेख गर्दै नयाँ मोडलले त्यो लोकप्रियतालाई अझ विस्तार गर्ने बताए । उनले नयाँ सुविधाहरूले समग्र सवारी अनुभवलाई थप उत्कृष्ट बनाउने धारणा व्यक्त गरेका छन् ।

टीभीएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले २ दशकभन्दा बढी समयदेखि अपाचे ब्रान्डले विश्वका ६० भन्दा बढी देशमा ६५ लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जित्दै आएको बताए । उनका अनुसार नयाँ मोडलले १६० घनसेन्टिमिटर क्षमताको मोटरसाइकल वर्गमा कम्पनीको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाउनेछ ।

कम्पनीका अनुसार नयाँ मोटरसाइकल हाल नेपालका केही बिक्री केन्द्रमा उपलब्ध भइसकेको छ भने आगामी साउनभित्र देशभरका आधिकारिक बिक्री केन्द्रमा बिक्रीका लागि उपलब्ध गराइनेछ । मोटरसाइकल कालो, रातो र नीलो गरी ३ रंगमा उपलब्ध रहेको छ । यसको शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।