एजेन्सी- ट्विटरमा ब्लु टिकका लागि अव मासिक ८ डलर तिर्न नपर्ने भएको छ । ट्विटरका मालिक एलन मस्कले ८ डलर तिर्न सक्ने क्षमता भएका जो सुकैले पनि ब्लु टिक हासिल गर्न सक्ने बताएका थिए । तर, उनको यो निर्णयबाट उनकै कम्पनी टेस्ला समेत सिकार बनेको छ ।
उनले घोषणा गरेको ७२ घन्टामै नक्कली ब्लु टिक अकाउन्टले ट्विटरमा हंगामा मच्चाएपछि ट्वीटरले अन्ततः ८ डलरको ब्लु टिक प्लान तत्काललाई बन्द गरेको हो । ट्वीटरमा एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनी र येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाताबाट ट्विट गर्न थालियो । यी सबै खाता भेरिफाइड थिए ।
लडाकु विमान निर्माता लकहिड मार्टिन र टेस्लाको भेरिफाइड खाताबाट गलत ट्विट भएपछि त्यसको शेयरमा गिरावट आयो । त्यती मात्र होईन टेस्लाको भेरिफाइड खाताबाट त युक्रेनी सेनालाई अत्याधुनिक हतियार र विष्फोटक पदार्थले भरिएका १० हजार गाडी दिने लेखेको थियो । ब्लु टिकले ट्विटरमा हंगामा मच्चाएपछि भने तत्काललाई यो योजना बन्द भएको छ । तर, मस्कले भने ब्लु टिकको योजनाको समर्थन गर्दै नक्कली खाता रोक्ने बताएका छन् ।
मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै आएका छन् । उनले नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने दावी समेत गरेका छन् ।
ट्विटरले सन् २००९ बाट ब्लु टिक सुरू गरेको थियो । सेलिब्रेटी र कम्पनीहरूको वास्तविक र नक्कली खाताहरू छुट्याउन उसले ब्लु टिक योजना सुरु गरेको भएपनि मस्कले भने मासिक ८ डलर तिर्न सक्ने जो सुकैले पनि ब्लु टिक लिन सक्ने घोषणा गरेका थिए । उनको यो निर्णयको आलोचना भएपनि उनले यसबाट आफु पछि नहट्ने बताएका थिए ।




प्रतिक्रिया