अबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित अब्जान क्षेत्रमा शुक्रबार भएको घटनामा घाइते भएका ७ जना नेपाली नागरिकमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अबुधाबीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइतेमध्ये १ जनाको अवस्था गम्भीर भनिए तापनि उनी अहिले खतरामुक्त रहेको र अस्पतालमा उपचार गराइरहेका जानकारी दिएको छ ।
उपचाररत ती नेपाली नागरिकले आफू छिट्टै अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको कुरा टेलिफोनमार्फत दूतावासलाई जानकारी गराएका छन् ।
नेपाली राजदूतावासले घटनाका सबै घाइतेहरूसँग टेलिफोनमार्फत र ४ जनासँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ । दूतावासका अधिकारीहरूले घाइतेहरूको आवश्यक सहयोग र समन्वयका लागि निरन्तर कार्य गरिरहेको बताउँदै यूएई सरकारले उनीहरूको स्वास्थ्य उपचारमा सक्रियता देखाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
दूतावासले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
यसैबिच, मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राजदूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मार्गदर्शन र सूचनाहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्रकाशित सूचनाहरूलाई मात्र विश्वास गर्न र भ्रमपूर्ण समाचारका पछि नलाग्न सबैमा अपील गरेको छ ।
घटना र विकसित परिस्थितिका सन्दर्भमा दूतावासले स्थानीय निकायहरूसँग निरन्तर सम्पर्कमा रही नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया