काठमाण्डु – युएईमा रहेका उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई पक्राउ गर्न नेपाली राजदूत कृष्ण ढकालले भूमिका खेलेको पाइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पाण्डेलाई सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसलाई लिएर साइबर अपराधमा युएईको प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल पत्रकार महासंघले मंगलवार विज्ञप्ति जारी गर्दै पत्रकार पाण्डेलाई पक्राउ गर्न दुतावास आफैले प्रहरीमा उजुरी दिएको पत्र प्राप्त भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उक्त पत्रको आधारमा यूएईस्थित नेपाली राजदूत ढकाल,डिसिएम विशाल भट्टराई र पिआरओ इरफान आलम संलग्न भएको प्रष्ट भएको जनाइएको छ ।
पाण्डेले नेपालमै रहँदा जनवरी ८ (पुस २४) गते ‘सामाजिक सञ्जाल फेसबुकममा भिजिट भिसामा नेपाली राजदूताबासको संलग्नता रहेको आशयमा’ स्ट्याटस लेखेका थिए । त्यसपछी दूतावासले प्रतिसोध सांधेर उनलाई पक्राउ गर्नका लागि त्यहांको प्रहरीलाई अनुरोध गरेको हो ।
उनको त्यही स्ट्याटसलाई लिएर युएइको तल्लो अदालतले उनको फेसबुक बन्द गर्ने, युएइमा रहेको सम्पत्ति जफत गर्ने, तीन महिना कैदमा राख्ने, २० हजार डिराम जरिवाना लगाउने र डिपोट गर्ने जस्ता ५ वटा सजायसहितको फैसला सुनाएको थियो ।
उनको रिहाईका लागी पहल गर्न पत्रकार महासंघले सरकारसंग पटक पटक माग गरेको थियो । तर,सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासले त्यसमा कुनै चांसो देखाएको थिएन् । पत्रकार पाण्डेले आफैंले युएईको अदालतमा अपिल गरेपछि उनको कैद छुट भएको छ । तर, बांकी सजाय भने अहिलेसम्म फुकुवा नभएको भन्दै महासंघले सरकारको फेरी ध्यानआकर्षण गरेको छ । उनको रिहाईको लागी पहल नभए पाण्डे र उनको परिवारलाई ठूलो समस्या पर्ने महासंघको भनाई छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपालीको संरक्षण गर्नुपर्ने नेपाली दूतावास नेपाली नागरिकको संरक्षण र सम्वद्र्धनमा जुट्नु पर्नेमा नेपाली पत्रकारलाई पक्राउ गर्ने कार्यमा संलग्न भएको यो घटना अत्यन्त दुःखद् हुनुका साथै दूतावासप्रतिको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको महासंघको ठहर छ । ’
महासंघले कुनै पनि विषयमा आफ्नो विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नेपालमा रहँदा लेखिएको स्ट्याटसको आधारमा युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनुका साथै त्यसबाट अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ ।
पत्रकार पाण्डेको रिहाइका लागि महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सिपिजे), इन्टरनेसनल फेडेरेसन अफ एक्सप्रेसन एक्सचेन्ज (आइफेक्स) र रिपोर्टर विथआउट बोडर्स (आरएसफ) लगायतका संघसंस्थालाई अपिल गर्ने महासंघले जानकारी दिएको छ ।
नेपाली पत्रकार पक्राउ गर्न दूतावास र राजदूत नै लागेको घटनाको बारेमा परराष्ट्रमन्त्रालयले समेत छानविन सुरु गरेको छ । राजदूत ढकाल यसअघि पनि पटक पटक विवादमा आएका थिए । दूतावासकै एक जना उपसचिव र शाखा अधिकृत समेत उनको व्यवहारबाट आजित भएर सरुवा मागेर स्वदेश फर्किसकेका छन् । ढकालको व्यवहारबाट दूतावासकै कर्मचारी समेत पिडित रहेको स्रोत बताउंछ ।
परराष्ट्र सचिव भरतराज पौडेलले यूएई भ्रमणमा गएको बेला उनको कार्यशैलीप्रति प्रश्न उठाउंदै सच्चिन निर्देशन दिएका थिए । ढकाल दिल्लीस्थित दूतावासमा डिसिएम हुंदा उनको दूतावासकै कर्मचारीहरुसंग विवाद बढेपछि फिर्ता बोलाइएको थियो ।




प्रतिक्रिया