रक्षामन्त्रीलाई युएईका राजदूतले भनेः दुवै देशका सेनाबीच सहकार्य गर्न सकिन्छ


काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हामदान अल–नाक्वी ले शिष्टाचार भेट गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले संयुक्त अरब इमिरेट्सका राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका थए ।

उपप्रधानमन्त्री पोखरेलले संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा नेपाली कामदारहरू रहेको कुरा उल्लेख गर्दै कोरोना भाइरसको महामारीमा नेपाली श्रमिकप्रति संयुक्त अरव इमिरेट्सले देखाएको सद्भभावनाको सह्नाना गर्दै आगामी दिनमा पनि यसै अनुसार हुने आशा व्यक्त गरे ।

यसै क्रममा उनले गत वर्षको आफ्नो संयुक्त अरब इमिरेट्समा भएको भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्रहरु कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत तथा स्प्रिङवाटरलगायतका क्षेत्रहरुमा नेपाली लगानीकर्ताहरुसँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गरे ।

भेटका क्रममा संयुक्त राज्य इमिरेट्स र नेपाल बीचका नियमित उडान हाल कोरोना भाइरुसको महामारीको कारण स्थगित भएकोमा छिट्टै नियमित हुने मन्त्री पोखरेलले धारणा राखे । साथै उनले यस महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गरे ।

राजदूत साइदले संयुक्त अरब इमिरेट्स र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरू नेपालमा जलविद्युत, पर्यटन तथा कृषिमा आधरित उद्योग लगायतका क्षेत्रहरुमा लगानी गर्न इच्छुक रहेको बताए ।

संयुक्त अरब इमिरेट्समा ठुलो संख्यामा नेपाली कामदारहरू रहेको र तिनले हालका दिनमा सुरक्षा¸ निर्माण तथा सेवा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कुरा व्यक्त गर्दै उनले नेपाली श्रमिकहरूको उचित व्यवस्थापनका लागि नेपालसँग सहकार्य गर्न आफ्नो सरकार सकारात्मक रहेको व्यक्त गरे ।

त्यस्तै भेटका क्रममा राजदूत  साइदले संयुक्त अरब इमिरेट्सको सेना र नेपाली सेनाबीच विभिन्न क्षेत्रमा सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विचार व्यक्त गरे ।  शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement