पारदर्शी काम गर्दै आएको छु, लाञ्छना नलगाऔँ: अर्थमन्त्री खतिवडा

पारदर्शी काम गर्दै आएको छु, लाञ्छना नलगाऔँ: अर्थमन्त्री खतिवडा

प्रतिनिधिसभाबाट तीन वटै विधेयककोविचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाले आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७ र ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

यसअघि अर्थमन्त्री डा खतिवडाले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका हुन् ।

हामी विरोधी होइनौं, प्रतिपक्ष हौँ

उक्त विधेयमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु सञ्जयकुमार गौतम, गोपालबहादुर बम, देवेन्द्रराज कडेल, ज्ञानेद्रबहादुर कार्की, भरतकुमार शाह, प्रेम सुवाल, गगनकुमार थापा, डा मीनेन्द्रप्रसाद रिजाल र अतहर कमाल मुसलमानलगातले भाग लिए ।

उनीहरुले संसद्मा उठाएको प्रश्नलाई राजनीतिकरुपमा नहेर्न तथा कर तथा राष्ट्र ऋण उठाउने सन्दर्भमा अदालतबाट भएका फैसला कार्यान्वयन गर्न सुझाव दिए ।
सांसद भरतकुमार शाहले भने, ‘हामी विरोधी होइनौँ, प्रतिपक्ष हौँ । प्रश्न उठाउनु भनेको सचेत गर्नु हो, सुधार गर्नु हो, त्यो प्रतिपक्षको धर्म हो ।’

अर्थमन्त्री जवाफः अनाहकमा लाञ्छना नलगाऔँ
सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले करका दर समायोजन गरिएको विषयलाई अर्थ मन्त्रालय, कुनै व्यक्ति विशेष र व्यावसायिक घरनासँग जोड्ने विषय ठीक नभएको बताए । बजेट प्रस्तुत गर्नुअघि नै केही विद्युतीय सवारीसाधन आयात गरिएको र करका दर चुहावट भएको भन्ने विषयमा सत्यता नभएको जनाउँदै उनले भने, ‘माननीय सदस्यहरुलाई करका दर चुहावट भएको भन्ने लाग्यो भने छानबिन गरौँ, तर अनाहकमा लाञ्छना नलगाऔँ, निष्ठा र पारदर्शीतापूर्वक नै काम गर्दै आएको छु, त्यो गर्छु ।’

करमा भएका सुधारलाई सांसदले तथा सदनले दिएका सुझावलाई सरकारले स्वीकाने बताउँदै अर्थमन्त्री डा खतिवडाले करको दरमा भएको सामान्य परिवर्तनलाई समाजलाई उछाल्ने कामले व्यक्ति र संस्था निष्ठामा धक्का लाग्छ भन्ने पक्षमा हेक्का राख्न सुझाव दिए ।

यसैबीच, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई पनि सदनले स्वीकृत गरेको छ ।

शोक प्रस्ताव पारित
प्रतिनिधिसभाले २०७० सालमा संविधानसभामा तत्कालीन मधेश समता पार्टी नेपालका तर्फबाट निर्वाचित पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज नेपाली (निषद) को निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली वाम आन्दोलनका योद्धा निषादको यही जेठ २७ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।

बैठकबाट पारित शोक प्रस्तावमा निषदको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छ, भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३१ गते दिनको १ बजे बस्नेछ । रासस