काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सरकार तयार रहेपनि ऋण लिने युवाहरुले चासो नदिएको बताएका छन् ।
चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।
‘हामीले सुहलियतमा ऋण दिने भनेकै हो, दिनेहरु तयार छन् तर लिन तयार भएनन, ऋण लिन्छु भन्दा बैंकले दिएनन भने गुनासो सुनुवाइ हुन्छ तर हामीसँग गुनासो आएको छैन’, उनले भने ।
चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो ।
सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षामा जम्मा ६ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया