काठमाण्डु – नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघु चलचित्र प्रतियोगितामा यस वर्ष रबिन तामाङको लघु चलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ ।
नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० वटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघु चलचित्र निर्माणमा भाग लिएको थियो ।
गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा आर्मी हेडक्वाटर भद्रकालीको सभाहलमा सम्पन्न भएको लघु चलचित्र प्रतियोगितामा प्रथम स्थान हासिल गरेको ‘उडान’ले २ लाख नगद पुरस्कार समेत प्राप्त गरेको थियो ।
विगतमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८ मा पनि तामाङको लघु चलचित्र ‘कस्तुरी’ प्रथम र ‘डोल्मा’ले तेस्रो स्थान हासिल गरेको थियो ।
लघु चलचित्र ‘उडान’मा आर्मी जंगल र जंगली पैदावारको सुरक्षा गर्नका निमित वन्यजन्तुको संरक्षणको निमित्त निकुञ्जमा तैनाथ रहन्छ तर निकुञ्ज नजिकैको बस्तीको एक बालिका निकुञ्जकै जनावरबाट बाली बचाउनका लागि कुर्नुपर्ने हुन्छ । यही समस्या र समाधानको वरिपरि कथावस्तु रहेको छ ।
चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने बाल कलाकार सुपृम राईको अभिनयले निकै तारिफ बटुलेको थियो । ग्याल्जेन क्रिएसनको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘उडान’मा मिस तामाङ रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, बिरबल घले, सुवास राई, सुक्रराज मगरको अभिनय रहेको छ ।
‘उडान’को कास्टिङ डाइरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने छायांकन विनोद बलले गरेका छन् । क्रियटिभ डिरेक्सन बाबुराम निरौलाले गरेका छन् । मुख्य सहायक निर्देशक अन्सुल डागी, पंकज सार्की रहेका छन् । भरत महरले सेट डिजाइन गरेका हुन् ।
पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको ‘उडान’को सम्पादन मिराज अर्यालले गरेका हुन् । लघु चलचित्रको साउन्ड डिजाइन तथा पाश्र्व गाएन मनोज खड्काले गरेका हुन् ।




प्रतिक्रिया