उदयपुरमा एमालेले पुरानो वर्चस्व कायम राख्न सक्ला ? परराष्ट्रमन्त्री खडकाको गृहजिल्लामा यस्तो बन्दै छ चुनावी गणित

उदयपुरमा एमालेले पुरानो वर्चस्व कायम राख्न सक्ला ? परराष्ट्रमन्त्री खडकाको गृहजिल्लामा यस्तो बन्दै छ चुनावी गणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ को जिल्ला उदयपुरमा भित्री मधेस र पहाड दुवै छ । कांग्रेस नेता एवं परराष्ट्रमन्त्री नारायण खड्काको गृहजिल्ला उदयपुरका स्थानीय तहमा वर्चस्व भने एमालेको देखिन्छ । गत स्थानीय चुनावको नतिजाका आधारमा जिल्लामा एमालेकै वर्चस्व छ ।

उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरेर आठवटा स्थानीय तह छन् । ०७४ सालको चुनावमा पाँचवटामा एमाले विजयी भएको थियो भने कांग्रेस र माओवादीले एक–एक तह जितेका थिए । एकमा स्वतन्त्र उम्मेदवार प्रमुख बने ।

एमालेले कटारी र बेलका नगरपालिकाको मेयर–उपमेयर तथा त्रियुगा नगरपालिकाको मेयर जित्यो । त्यस्तै, उसले उदयपुरगढी र रौतामाई गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा ताप्ली गाउँपालिकाको उपाध्यक्ष पनि जित्यो । कांग्रेसले चौदण्डीगढी नगरपालिकाको मेयर–उपमेयर तथा त्रियुगाको उपमेयर जितेको थियो । यस्तै, उसले सुनकोसी गाउँपालिकाको उपाध्यक्षमा सफलता पायो । माओवादीले भने सुनकोसीको अध्यक्षबाहेक अन्यत्र जित निकाल्न सकेन । ताप्ली गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

यो जिल्लाका अधिकांश स्थानीय तहमा माओवादी तेस्रो भएको थियो । त्यसैले ऊसँग मिल्ने दल नै विजयी हुने सम्भावना बढी देखिन्छ । एमालेले जितेका सबै गाउँपालिकामा कांग्रेस र माओवादीको संयुक्त मत बढी छ । यसपटक पार्टीमा आएको विभाजनको असर पनि एमालेमा देखिन्छ । यद्यपि, उसले यसबीचमा अन्य दलका केही नेता–कार्यकर्ता पार्टीमा भित्र्याएर क्षतिपूर्ति गर्न खोजेको छ ।

आगामी चुनावका लागि जिल्लामा सत्ता गठबन्धन दलबीच तालमेलको प्रयास भइरहेको छ । तर, कांग्रेसमा तीव्र असन्तुष्टिका कारण समस्या भइरहेको छ । केहीले राजीनामाको घोषणासमेत गरेका छन् । तर, सत्ता साझेदार दलबीच गठबन्धन गर्ने सहमति भने भइसकेको छ । सोहीअनुसार बढी उम्मेदवारलाई फिर्ता गराउन प्रयास भइरहेको छ । जिल्लामा टिकट वितरणलाई लिएर एमालेमा पनि तीव्र असन्तुष्टि छ । केही पालिकामा एमालेका नेताले पनि बागी उम्मेदवारी हालेका छन् ।

गत निर्वाचनको परिणाम हेर्ने हो भने सत्ता गठबन्धनबीच तालमेल हुँदा लगभग सबै पालिकामा एमालेको भन्दा बढी मत हुन्छ । यसपटक एकीकृत समाजवादी पनि थपिँदा एमालेको मत झन् कम हुन्छ । तर, यसबीचमा जिल्लामा धेरै मतदाता थपिएका छन् । एमालेले आफू कमजोर नरहेको देखाउन खोजिरहेको पनि छ । यद्यपि, तालमेल इमानदारिताका साथ कार्यान्वयन भएमा एमालेले पहिले जितेका धेरै पालिका गुमाउने सम्भावना छ ।

एमालेको विभाजन पनि यो जिल्लाको परिणाममा मुख्य फ्याक्टर बन्न सक्छ । यदि तालमेल भएन भने एमालेले उदयपुरमा पहिलेकै नतिजामा धेरै ठूलो नोक्सानी व्यहोर्नु नपर्ने पनि हुन सक्छ । जिल्लामा २ लाख २३ हजार १ सय ३८ मतदाता छन् । तीमध्ये १ लाख १२ हजार ८ सय ८५ पुरुष र १ लाख १० हजार २ सय ५१ महिला छन् ।