अन्नपूर्ण हिमालमा बेपत्ता आरोहीको जीवितै उद्धार


म्याग्दी – म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् ।

सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट टे«कका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिए ।

“हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ”, उनले भने । परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट टे«कमार्फत आरोहणमा जाएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए ।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । काठमाडौँ लगिएकी कौरको अवस्था सामान्य रहेको टे«किङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement