काठमाण्डु- त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जेठ ३१ गते बिहीबार दिउँसो चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदीमा नाम वतन नखुलेको एक व्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको फौज परिचालन गरिएको थियो ।
उनलाई साँझ सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थामा जीवितै उद्धार गरी कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याइएको छ । उद्धार गरिएका व्यक्ति सप्तरी जिल्लाको खडक गाउँपालिका–८ गर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षका बन्धुलाल चौधरी रहेको खुलेको छ ।
उनी माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेको बताइएको छ । उनको हात र खुट्टामा चोट लागेको छ ।




प्रतिक्रिया