काठमाण्डु– सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ ।
गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको आइतबार बिहान सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो ।
सँगै पढ्ने युवतीसँग विवाह गर्न पाउनुपर्ने माग गर्दै टावरमा चढेका आलमलाई सकुशल उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनले बिहान आज ४ बजे साथीलाई फोन गरेर बोलाएपछि घटनाबारे थाहा भएको थियो । टेलिफोनमा हुसेनले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न अभिभावकले अनुमति दिनुपर्ने माग गरेका थिए। यदि आफ्नाप्रति वेवास्ता गरिए टावरबाटै हामफाल्ने चेतावनीसमेत उनले दिएका थिए।
बुवा र दाजुले माग पूरा गरिदिने आश्वासन दिएर सम्झाइ–बुझाइ गरेपछि उनी सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका प्रहरीले जनाएको छ।
उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो ।




प्रतिक्रिया