मुख्यमन्त्री बनाउँदा विद्रोह गरेका कांग्रेस सांसदसँग कुरा मिलिसक्यो : पूर्व मुख्यमन्त्री थापा


विराटनगर – नेपाली कांग्रेस कोशी प्रदेशका सांसद तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र विद्रोह गरेका ८ जना सांसदसँग कुरा मिलिसकेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै थापाले अब कुरा मिलिसकेको बताए ।

कांग्रेसका ८ सांसद र नेकपा एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।

‘कोशीमा को मुख्यमन्त्री बन्ने भन्दा पनि समस्याको समाधान हुनु राम्रो कुरा हो । एमालेले केदार कार्कीलाई समर्थन गर्दा कोशीमा हामी समाधान नजिक पुगेका हौं जस्तो लाग्छ,’ बुधबार प्रदेश सभामा बोल्दै उनले भने, ‘८ जना सांसदले पार्टीभित्र झगडा गर्नुभयो । कुण्ठा पोख्नुभयो । उहाँहरू युद्ध जितेर घरमा आएपछि हामीले गाला जोड्यौं ।’

एमालेभित्र जतिसुकै झगडा भए पनि चाहिएका बेला मिल्ने गरेको उल्लेख गर्दै उनले आफूहरूले पनि ८ जना सांसदहरूसँग गाला जोडिसकेको स्पष्ट पारे ।

एमालेलाई अहिलेको सरकारलाई समर्थन गरिराख्न पनि उनले आग्रह गरे । ‘मध्यावधिबाट जोगाउन एमालेले पनि यो सरकारलाई साथ दिइरहोस्,’ उनले भने, ‘बजेटलाई पनि हार र जीतका कुरा नबनाऊ । अध्यादेशबाट बजेट चल्ने अवस्था सहमतिमा अन्त्य गरौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement