काठमाण्डु – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबा। पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।
लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।
खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ– आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योःमरि बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।




प्रतिक्रिया