नेपाली नागरिकको डेटा सुरक्षित छैन

नेपाली नागरिकको डेटा सुरक्षित छैन

उज्वल राय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ ।

आजको विश्वलाई परिवर्तन गरिरहेको एआई केवल एउटा चल्तीको प्रविधि नभई मानव सभ्यताकै दिशा बदल्न सक्ने शक्ति बनेको छ । विश्व इतिहासमा १० वर्षमै एक ट्रिलियन डलरको कम्पनी बन्न सफल संगठन आजसम्म देखिएको थिएन । तर ओपनएआई २०१८ मा स्थापना भएर २०२५ मा ट्रिलियन डलर मूल्याङ्कनको आईपीओमा जान लागेको छ । यही उदाहरणले एआईको तीव्र गति देखाउँछ ।

एआईले विश्व अर्थतन्त्र पुनः परिभाषित गरिरहेको बेला नेपाल जस्तो सानो देशले पनि उचित तयारी गर्न सकेमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ । आईटी उद्योगले विश्व अर्थतन्त्रमा लामो समयदेखि योगदान दिए पनि एआई भने पूर्णतः नयाँ र तीव्र गतिमा वृद्धि भइरहेको क्षेत्र हो ।

आईटी केही हदसम्म लेगेसी इन्डस्ट्री हो भने एआई पूर्ण रूपमा नयाँ निर्माण भइरहेको इन्डस्ट्री हो । एआईमा विश्वव्यापी रूपमा ‘ र्‍यापिड एडोप्सन’ भइरहेको छ, जसले नयाँ राष्ट्रलाई अगाडि उक्लने अवसर दिन्छ ।

एआई प्रयोग गरेर संसारका जुनसुकै ठाउँबाट पनि उच्च आम्दानी सम्भव छ, तर नेपालका ग्रामीण क्षेत्रका युवाले ‘डाँडाकाँडाबाट ल्यापटपमा बसेर १० लाख रुपैयाँ महिनामा कमाउन’ चाहने हो भने राम्रो इन्टरनेट कनेक्सन र विश्व बजारले माग गरिरहेका प्रविधिहरु पनि आवश्यक हुन्छन् ।

एआईले सिर्जना गरिरहेका नयाँ रोजगारीका लागि नेपालमा आवश्यक जनशक्तिको अभाव छ । प्रोम्प्ट इन्जिनियर, एआई डिजिटल मार्केटर, एआई भिडियो क्रिएटरजस्ता पदका लागि नेपालमा योग्य जनशक्ति भेटिँदैन । म आफू पनि नेपालमा सकेसम्म भर्ती गर्न खोज्छु, तर पाइँदैन । अन्ततः बंगलादेश वा बैंगलोरबाट हायर गर्नुपर्छ ।

नेपालका युवाले एआईलाइ ‘च्याटजीपीटी चलाउने’ बुझाइमा सीमित राख्नु गलत हो । एआई केवल च्याटजीपीटी होइन, एआई मोडलहरू कृषि, स्वास्थ्य, सुशासन, विपद् व्यवस्थापन सबै क्षेत्रमा फरक–फरक रूपमा प्रयोग हुन्छन ।

नेपालमा एआई सीप निर्माणका लागि शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ । एआईलाई तीन महिनाको भोकेसनल तालिमले पनि प्रारम्भिक स्तरमा सिक्न सकिन्छ । तर यदि नेपालले ग्लोबल मार्केटमा जाने एआई प्रोडक्ट बनाउन चाहन्छ भने गहिरो विशेषज्ञता चाहिन्छ ।

त्यसका लागि नेपालले विद्यालय स्तरदेखि नै एआई करिकुलम लागु गर्नुपर्छ प्लस टू र युनिभर्सिटीमा व्यावहारिक एआई विषय, प्रशिक्षक (टिचर) उत्पादन वा विदेशबाट भित्र्याउन आवश्यक छ ।

नेपालमा एआई निर्माणका लागि सबैभन्दा ठूलो चुनौती फिजिकल कम्प्युटिङ इन्फ्रास्ट्रक्चर रहेको छ । एआई डेभलपमेन्ट पुरानो कम्प्युटर ल्याबबाट सम्भव हुँदैन । जीपीयु क्लस्टर, हाइ–परफर्मेन्स कम्प्युटिङ ल्याब नेपालमा छैन । त्यसैले फ्रन्टियर मोडेल बनाउने कुरा अहिले चुनौतीपूर्ण छ ।

सफ्टवेयर पहुँच भने पर्याप्त छ । गुगल एआईस्टुडियो, माइक्रोसफ्ट कोपाइलट, ओपन एआइ कोडेक्स जस्ता प्लेटफर्म नेपालमै चलाउन सकिन्छ । नेपाली भाषामा आधारित लार्ज ल्याङग्वेज मोडल बनाउन सक्ने सम्भावना पनि धेरै छ ।

यदि नेपाली एलएलएम बन्यो भने हरेक कम्पनी, सरकारी सेवा, अस्पताल, रेष्टुरेन्ट सबैले एआईबाट ग्राहक व्यवस्थापन गर्न सक्छन् । जस्तै, एआई रिसेप्सनिस्ट राख्ने हो भने उसले एकै समयमा हजारौँ ग्राहकको फोन उठाउन सक्छ, वास्तविक समयमै डेटा इन्ट्री गर्छ, बहुभाषी संवाद गर्न सक्छ । यसले व्यवसायको लागत अत्यधिक घटाउन सक्छ ।

डेटा सुरक्षामा खतरा

नेपालमा डिजिटल डेटा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ । नेपाली नागरिकको डेटा सुरक्षित छैन । हाम्रो डेटा हामीसँग छैन, विदेशी कम्पनीसँग छ । सरकारी वेबसाइटहरू सजिलै ह्याक हुनसक्छन, साइबर सुरक्षा मापदण्ड कमजोर छन् । राष्ट्रिय स्तरको डेटा संरक्षणका कानून कडा हुनुपर्छ । अमेरिकी नागरिकको डेटा जति महत्वपूर्ण हुन्छ, नेपाली नागरिकको पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले यसका लागि नेपालले आफ्नो छुट्टै साइबर सुरक्षा मापदण्ड बनाउनु पर्छ ।

पहिलोपटक इतिहासमा कुनै पनि देशको आर्थिक आकार अब जनसंख्यामा निर्भर छैन । पहिले जनसंख्या ठूलो भयो भने जीडीपी ठूलो बन्ने मान्यता थियो । तर अबका दिनमा काराखनामा रोबोट, अफिसमा डिजिटल वर्कर र सफ्टवेयरले धेरै काम एआईले गर्नेछ ।

नेपाल सानो देश र सानो जनसंख्या भए पनि एआई प्रोडक्ट बनाएर विश्व बजार कब्जा गर्न सक्छ । सफ्टवेयर बेच्न देश ठूलो वा समुद्र छेउमा हुनु आवश्यक छैन । स्विजरल्यान्ड जस्तै सानो देशले विश्व बजारमा आफ्नो पहिचान मजबुत बनाएको उदाहरण छ ।

नेपालमा स्टार्टअप इकोसिस्टम कमजोर भएकोले गभर्मेन्टले दीर्घकालीन इकोसिस्टम बनाउनु आवश्यक छ । नेपालमा भेन्चर क्यापिटल, एन्जल इन्भेस्टमेन्ट, स्टार्टअप इनक्युबेटर लगायत संरचना कमजोर छन् । नेपालमा सार्क ट्याङ्करजस्ता कार्यक्रम छन, तर त्यसले वास्तविक रुपमा प्रभाव नपारेको जस्तो हुन्छ । त्यसका लागि दीर्घकालीन स्टार्टअप इकोसिस्टम चाहिन्छ ।

नेपालमा विदेशी लगानी, भेन्चर क्यापिटल वातावरण, सिड फन्डिङ, इनक्युबेसन हब बनाउन सरकारले भूमिका खेल्नुपर्छ । युवाहरूले राष्ट्रिय र विश्व दुवै स्तरका समस्या समाधान गर्ने उद्यमशीलता अपनाउनुपर्छ । नेपाली युवा अब केवल ‘सरकारी रोजगारी’ वा ‘विदेश पलायन’ को बाटोबाट बाहिर आउनु पर्छ ।

देशका सामाजिक–आर्थिक समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी माध्यम उद्यमशीलता हो । जस्तो ई–सेवाले क्यासलेस अर्थतन्त्र ल्यायो, ठूलो समस्या समाधान ग¥यो र ठूलो कम्पनी पनि बन्यो । त्यस्तै हामीले अरू समस्याहरू पहिचान गरेर समाधान दिनुपर्छ ।

एआई नै विश्व अर्थतन्त्रको भविष्य

एआई अब भविष्यको प्रविधि मात्र नभई विश्व–अर्थतन्त्र परिवर्तन गर्ने मुख्य शक्ति बनेकाले नेपालजस्ता देशले यसबाट ठूलो लाभ लिन सक्ने सम्भावना छ । यदि समयमै आधारभूत नीति, पूर्वाधार र सीप विकासमा ध्यान दिन सकियो भने । नेपालले एआई क्षेत्रमा समयमै लगानी र तयारी गर्न सके विश्वस्तरमै प्रतिस्पर्धी बन्न सक्छ ।

लेखक राय वल्र्ड एआई एलायन्सका अध्यक्ष हुन् ।