काठमाण्डु – एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ।
लेबर पार्टीभित्रैबाट उनको राजीनामा माग भइरहेको छ। तर स्टार्मरले राजीनामा नदिने अडान लिएका छन्।
यसैबीच नयाँ प्रधानमन्त्रीको दौडमा गृहमन्त्री शबाना महमूद, स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ र पूर्व उपप्रधानमन्त्री एन्जेला रेनरको नाम अगाडि आएको छ।
शबाना महमूद पाकिस्तान प्रशासित कश्मीरको मीरपुर मूलकी हुन्। सन् २०२५ मा गृहमन्त्री बनेकी उनी पहिलो मुस्लिम महिला हुन्। यदि उनी प्रधानमन्त्री बनिन् भने, बेलायतकी पहिलो मुस्लिम प्रधानमन्त्री बन्नेछिन्।
बेलायतमा एपस्टीन फाइल्ससँग जोडिएको विवाद चर्किएपछि प्रधानमन्त्री स्टार्मरका सबैभन्दा विश्वासिला सहयोगी तथा डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले राजीनामा दिएका छन् ।
म्याकस्वीनीमाथि यौन अपराधी जेफ्री एपस्टीनलाई समर्थन गर्ने पीटर मन्डेलसनलाई अमेरिकामा बेलायतको राजदूत बनाएर पठाएको आरोप लागेको छ। म्याकस्वीनीले यो नियुक्ति गलत भएको बताएका छन्।
म्याकस्वीनीका अनुसार यस निर्णयले पार्टी, देश र राजनीतिप्रति जनताको विश्वास कमजोर बनाएको छ। उता विपक्षी दलहरूले प्रधानमन्त्री स्टार्मरले यस प्रकरणको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन्।




प्रतिक्रिया