‘युके भेरियन्ट’बाट बालबालिका उच्च जोखिममा, यस्ता छन् लक्षण

‘युके भेरियन्ट’बाट बालबालिका उच्च जोखिममा, यस्ता छन् लक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ स्वरुप तिब्र गतिमा फैलिरहेको छ । नेपालमा समेत तीब्र गतिमा फैलिरहेकाको कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) संक्रमणबाट साना बालबालिका उच्च जोखिममा परेका छन् ।

यसअघि एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो शनिबार तीन सय ३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएको बताए । उनले भने, ‘१८ वर्षमुनिका बालबालिकाको संक्रमण दर बढ्दै गएको छ । विगतमा बालबालिका बढी संक्रमित हुँदा पाँच प्रतिशत थियो । तर, गएको एक हप्ताको तथ्यांक हेर्दा १५ प्रतिशतसम्म बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयले नयाँ स्वरूपको भाइरस विद्यालय अध्ययन गर्ने बालबालिकाको उमेर समूहमा बढी फैलिएको अनुमान गरेको छ । कोरोनाको पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा भने दोस्रो लहरमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत उच्च जोखिममा देखिएका छन् ।

कोभिड–१९ को दोस्रो लहर सम्भावित जोखिमसहित फैलियो भने अर्को भुमरीको खतरा आउने स्वास्थ्यविदहरुको अनुमान छ ।

कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा नेपालसहित विश्व नै दोस्रो लहरको संघारमा आइपुगेको छ ।
स्वास्थ्य मन्त्रालयले जनघनत्व बढी भएका स्थानमा दोस्रो लहर टार्नै नसक्ने गरी फैलिन सक्ने भन्दै खतराको घन्टी बजिसकेको जनाएको छ  ।

हालसम्म दुई लाख ७९ हजार तीन सय ८८ जना कोरोना संक्रमित हुँदा २१ हजार एक सय ९९ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । एक हप्तामा मात्रै एक सय २० जना सिकिस्त संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

त्यस्तै ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । सामान्य लक्षण देखिएका कोरोना संक्रमित घरमै सुरक्षित रूपमा बसेका छन् ।

अघिल्लो तीन महिनाको तुलनामा संख्यात्मक हिसाबले पछिल्लो एक हप्तायता सिकिस्त संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ । यसको अर्थ, समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।

नयाँ प्रजातिका लक्षण

उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध हराउनु पुरानो प्रजातिको कोरोना संक्रमणका लक्षण थिए भने अहिले यी लक्षणमा केही भिन्नता देखिएको जनस्वास्थ्यविदले बताएका छन् ।

भारतको मुम्बइमा भएको एक अनुसन्धानमा ८० हजार संक्रमितमध्ये ६५ हजार संक्रमित लक्षणविहीन थिए भने ८ हजार व्यक्तिमा सामान्य लक्षण देखिएको थियो ।

नयाँ प्रजातिको कोरोना संक्रमणमा भोक नलाग्ने, कमजोरी महशुस हुने, आँखा राता हुने, पखाला लाग्ने, बान्ता हुने तथा जाडो हुने समेत पाइएको छ ।