काठमाण्डु – पछिल्लो समय कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि सरकारले नेपाल उच्च जोखिममा परेको जनाएको छ ।
विश्वभर फैलिरहेको कोरोनाको नयाँ भेरियन्टले नेपालमा पनि खतराको घण्टी बजाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरु ९ बजेपछि बन्द गर्न कडा निर्देशन दिएको छ ।
कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको हो ।
जारी सूचनामा जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरिएको छ ।
त्यस्तै संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले शैक्षिक संस्थाहरुमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म १६ जनामा युके भेरियन्ट पुष्टि भएको छ । उनीहरूले समुदायमा संक्रमण सारेका छन् । गत २७ पुसमा कोभिड परीक्षणमा एस जिन नेगेटिभ आएकाले नयाँ भाइरस पत्ता लगाउन तीनवटा नमुना हङकङ पठाइएको थियो ।
उनीहरूलाई युके भेरिएन्ट पुष्टि भएकाले थप १३ जनाको नमुना पठाउँदा पनि सोही भेरियन्ट पुष्टि भएको रिपोर्ट आएको थियो ।
कोरोना परीक्षण गर्दा एस जिन नेगेटिभ देखिएकाहरुमा सरकारले युके भेरियन्टको आशंका गर्दै आएको छ । त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले एक वर्षअघि फैलिएको कोरोनाले विश्वभर नयाँ भेरियन्ट बनाएकाले अझै सतर्कता आवश्यकता रहेको बताए ।
‘विश्वमा सबैभन्दा चासोका भेरियन्टहरु तीनवटा छन् । ती तीनवटै भेरियन्टबाट नेपाल उच्च जोखिमा छ । बढी असरदार र बढी संक्रामक अनि जटिलता बढाउन सक्ने यी भेरियन्टबाट जोगिन सतर्क हुनु आवश्यक छ’, उनले भने, ‘अहिले सबैभन्दा छिटो फैलिने बेलायतमा भेटिएको भेरियन्ट नेपालमा पनि फैलिसकेको छ ।’
बेलायतमा पत्ता लागेको बी.१.१.७ नाम गरेको भेरियन्ट नेपालसहित विश्वका १३० भन्दा धेरै देशमा पुगिसकेको छ ।निर्देशक पौडेलले नयाँ भेरियन्टले गम्भीर स्वास्थ्य समस्या पनि ल्याइरहेको बताए ।
उनले नयाँ भेरियन्टका बिरामीलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आइरहेकाले आइसियु र भेन्टिलेटर पनि धेरै चाहिने अवस्था आइरहेको बताए ।
‘नयाँ भेरियन्ट तीव्र संक्रामक छ । यो एकजनाबाट अर्कोमा तीव्र गतिमा फैलिन्छ’, उनले भने, ‘यो भेरियन्टले भेटेमा बिरामीलाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । यसले छिटोभन्दा छिटो संक्रमण फैलिन्छ, नजिकका मान्छेलाई चाँडो देखिने गरेको छ ।’
स्वास्थ्यविदहरुका अनुसार भारतमा युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतीय भेरियन्ट देखिएको छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरियन्ट पुष्टि भएको थियो । त्यसयता सरकारले नेपालमा स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्दै आइरहेको छ ।
बुधबार थपिए ३ सय ३९ जना कोरोना संक्रमित
नेपालमा बुधबार ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार दुई सय ९८ पिसिआर परीक्षण र एन्टिजिन परीक्षणमा ४१ गरी तीन सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाण्डु उपत्यकामा बुधबारमात्रै १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाण्डु १३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय एक छ । देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।




प्रतिक्रिया