काठमाण्डु – पसिना बगाएर उत्पादन गरेको उखु बिक्रीवापतको मूल्य पाउन उखु किसानहरू सडकमा उत्रेका छन् ।
उखु उत्पादक महासंघ नेपालको नेतृत्वमा भुक्तानी माग गर्दै किसानहरू आइतबार उखु नै बोकेर माइतीघरमा सडकमा धर्ना बसेका छन्।
आव ०८१-०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल र७० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले प्रदर्शन थालेका छन् ।
सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाण्डु केन्द्रित आन्दोलन थालेका हुन् ।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ। अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन्।
महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन्, तर सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा किसानहरू सडकमा उत्रिन बाध्य भएका हुन् ।








प्रतिक्रिया