काठमाण्डु-रुसले युक्रेनमा अतिक्रमण गरेको झन्डै तीन वर्ष पुग्न लागेको छ । धेरै जानकारहरू लडाइँ सेनाले जिते पनि वास्तविक युद्ध अर्थतन्त्रले जित्ने बताउँछन् । के युक्रेनले रुसविरुद्धको लडाइँलाई निरन्तरता दिन खर्च धान्न सक्छ त?
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले हालै आफ्नो देशले युद्धको अन्त्य हतारमा होइन, न्यायोचित ढङ्गले भएको हेर्न चाहेको बताएका छन् ।
युद्धको विषयमा मुख्य साझेदार अमेरिकाले सहयोग रोक्का अनि भविष्यमा समर्थन घटाउने सन्देश दिइरहँदा के युद्धले घाइते भएको युक्रेनको अर्थतन्त्रले थप एक वर्षको लडाइँ धान्न सक्ला ?
अन्य युरोपेली देशहरूको तुलनामा युक्रेन ठूलो भए पनि रुससँग तुलना गर्दा उसको क्षेत्रफल, जनसंख्या र अर्थतन्त्र निकै सानो छ । अतिक्रमणभन्दा अगाडि रुसको अर्थतन्त्र युक्रेनको भन्दा १० गुना ठूलो थियो ।
युद्धका कारण युक्रेनको अर्थतन्त्रले पछिल्ला वर्षहरूमा ठूलो धक्का बेहोरेको छ । त्यो धक्का सन् १९९० ताका सोभियत संघको विघटनपश्चात् उत्पन्न तीव्र आर्थिक विचलन र उच्च महँगीको परिस्थितिभन्दा पनि ठूलो छ ।
सन् २०२२ यता सरकारले राजस्वको अधिकांश हिस्सा रक्षामा खर्च गरेको छ । सार्वजनिक सेवा, स्वास्थ्य उपचार र शिक्षाजस्ता अन्य महत्वपूर्ण क्षेत्रका निम्ति स्रोत जुटाउन उसलाई निकै चुनौतीपूर्ण भएको छ ।
रुसी अतिक्रमणका प्रारम्भिक महिनाहरूमा किएभले बजेट घाटा पूर्ति गर्न सरकारी बन्ड बेच्यो अनि नोट पनि छाप्यो । तर सन् २०२२ को अन्त्यतिर आइपुग्दा उसको अर्थतन्त्र एकतिहाइले संकुचित भयो भने मुद्रास्फीति २५ प्रतिशतभन्दा धेरैले बढ्यो ।
तर, अन्तर्राष्ट्रिय साझेदारहरूले मद्दत दिएपछि मात्र अवस्था युक्रेनको अवस्था स्थिर हुन थाल्यो । सुरुमा अमेरिका नै उसको मुख्य दाता थियो र सबै प्रकारको सहयोग सैनिक, मानवीय तथा आर्थिक स्थायित्वलक्षित वित्तीय सहयोग गरेको थियो ।
तर पछि उक्त भूमिका युरोपेली युनियन (ईयू)लाई दिइएको छ । ‘आजको दिनमा युद्धको लागतको ८० प्रतिशत युक्रेन र युरोपले बेहोरिरहेको छ, बाँकी २० प्रतिशत अमेरिकाले बेहोरेको छ’ म्युनिख सुरक्षा सम्मेलनमा भाग लिन जाँदै गर्दा राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरूलाई भनेका थिए ।
सन् २०२२–२४ मा युक्रेनले विदेशबाट करिब ११५ अर्ब डलरको सहयोग मुख्यतः ऋण, अनुदान, तथा कर्जा राहतका प्रतिबद्धतामार्फत् पाएको थियो ।
त्यसमध्ये ईयूबाट ४४.८ अर्ब डलर, अमेरिकाबाट ३१.२ अर्ब डलर अनि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १२.४ अर्ब डलर रहेको थियो अमेरिकाले सन् २०२४ मा उसलाई दिएको ६०.७ अर्ब डलरको खास गरी सैन्य सहयोगको वाचामा युक्रेनी अर्थतन्त्रलाई सघाउन लक्षित ७.९ अर्ब डलरको ऋण सहयोग पनि थियो ।
सन् २०२४ मै विश्वका सात अग्रणी अर्थतन्त्रहरूको समूह जी–सेभनले युक्रेनलाई करिब ५० अर्ब डलरको एक्स्ट्रा अर्डिनरी रिभन्यू अक्सिलरेशन (ईआरए) ऋणको प्रतिबद्धता जनायो जसको भुक्तानी रोक्का गरिएका रुसी सम्पत्तिबाट भएका आम्दानीमा हुने भनियो । सन् २०२५ मा युक्रेनले उसका साझेदारहरूबाट करिब ३८.४ अर्ब डलर पाउने आश राखेको छ ।
विदेशी सहयोगका कारण सन् २०२२ मा तीव्र संकुचन बेहोरेको युक्रेनी अर्थतन्त्र सरकारी अनुमानमा सन् २०२३ मा ५.३ प्रतिशतले बढ्यो अनि सन् २०२४ मा थप ३.६ प्रतिशतले बढेको थियो ।
अन्तर्राष्ट्रिय सहयोगले युक्रेनको विदेशी मुद्रा भण्डार भर्न सघाउ पुग्नुका साथै स्थिर राष्ट्रिय मुद्रा कायम राख्न र बजेट घाटा पूर्ति गर्न पनि मद्दत पुगेको छ ।
युक्रेनस्थित सेन्टर फर सोशल एन्ड इकोनमिक रिसर्च संस्थाका प्रमुख दिमित्रो बोयार्चुक भन्छन्, ‘युद्ध लडिरहन युक्रेनलाई वार्षिक ४० अर्ब डलर आवश्यक पर्छ ।’ यदि अन्तर्राष्ट्रिय सहयोग हटाइदिने हो भने कथा दुःखद हुने उनको भनाइछ ।
युक्रेनको युद्ध अर्थतन्त्रका लागि पैसा मात्र पनि समस्या होइन । उसका निम्ति ऊर्जा र श्रमशक्तिको अभाव पनि गम्भीर विषय हो । युद्धभन्दा अगाडिको अवस्थाको तुलनामा रुसले युक्रेनको ऊर्जा उत्पादनको आधाभन्दा धेरै क्षमता या त ध्वस्त पारिदिएको छ या कब्जामा लिएको छ ।
सन् २०२२ को अक्टोबर र सन् २०२४ को सेप्टेम्बरका बीच त्यहाँको ऊर्जा संरचनामा १,००० भन्दा धेरै पटक रुसी हमला भएका युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यी कारणहरूले गर्दा त्यहाँ महँगी बढ्नुका साथै व्यवसाय एवं उद्योगहरूको खर्च वृद्धि भएको छ । अर्को समस्या श्रमशक्तिको हो । युक्रेनको श्रमशक्ति एकतिहाइले घटेको छ । युद्धमा हुने हताहत हुने मानिसबाहेक आप्रवासन पनि यसको मुख्य कारण हो । अहिले त्यहाँको सेनामा झन्डै आठ लाख ८०,००० मानिस रहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
रुसी अतिक्रमणका कारण करिब एकचौथाइ जनसंख्या घर छाडेर जान बाध्य भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार करिब ७० लाख युक्रेनी शरणार्थी विदेशमा बसिरहेका छन् तीमध्ये ६३ लाख युरोपमा छन् भने ४६ लाख आन्तरिक विस्थापनमा परेका छन् ।
युक्रेनको अर्थ मन्त्रालयका अनुसार प्रतिदिन १४ करोड २० लाख डलरको दरमा सन् २०२४ मा ५२ अर्ब डलर युद्धमा खर्च गरिएको छ । सन् २०२५ का निम्ति सरकारले थप ४९ अर्ब डलर रक्षाका लागि छुट्ट्याएको छ । त्यो युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एकचौथाइ रकम हो ।
रुस–युक्रेन युद्धले निम्त्याएको संकट समाधान गर्न कूटनीतिक गतिविधि तीव्र पारिएका छन् । अमेरिका, रुस, युक्रेन र युरोपमाझ हुने सम्भावित सहमतिलाई नजिकबाट हेरिएको छ । तर दीर्घकालीन शान्तिको सम्भावना अझ पनि क्षीण नै देखिन्छ ।




प्रतिक्रिया