सुर्खेत – जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका …..’ कर्णाली उत्सवको स्टेजमा पुगिन्, त्यतिबेला निकै भावुक पनि देखिइन् ।
कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधी पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन, वादी समुदायको जीवन भोगाइ, भोग्नुपरेको विभेद र उत्पीडनका शृङ्खलाहरू शब्दमा उतारिन् ।
‘धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन्,’ आफ्नो प्रवचनको सुरुवातमै आफूले कम पढेकोमा पछुतो मान्दै उनले भनिन्, ‘स्कूल धेरै धाएँ हजुर तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन तर जीवन भोगाइ र पीडाको डिग्री अवश्य छ ।’ वादी समुदायको फिरन्ते जीवनशैली, जीवन धान्नकै लागि गर्नुपरेको कठोर संघर्ष, परम्परागत समाजमा वादी समुदायले भोग्नुपरेको उत्पीडनका कारण आफूले पढ्न नपाएको उनले गुनासो गरिन् ।
सल्यानमा जन्मिएर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै भारतको कुमाउ र गडुवालसम्म पुगेको आफ्नो बाल्यकालको कथा पनि उनले सुनाइन् । वादी समुदाय भन्ने बित्तिकै देह व्यापारलाई सम्झिने परम्परागत मान्यताका कारण पनि थुप्रै विभेद र अपमान सहनुपरेको उनको भोगाइ छ ।
‘वादी भन्ने बित्तिकै महिलाहरूलाई देह व्यापारमा लगाउने समुदाय भन्ने बुझाइ छ,’ उनले भनिन्, ‘सबै वादी समुदायमा यो पेशा नभए पनि सामाजिक दृष्टिकोण यही छ ।’ देह व्यापार पनि कुनै समय समुदायको लागि बाध्यता भएको बताइन् ।
उमा वादी कर्णाली र सुदूरपश्चिमको भूगोललाई जोड्ने ऐतिहासिक वादी आन्दोलनकी अगुवा हुन् । उनी सुदूरपश्चिम प्रदेश सभाकी पूर्व सदस्य पनि हुन् । उनले समुदायको मुक्ति र विभेदविरुद्ध आवाज उठाउँदाका अनुभूतिहरू सविस्तार सुनाइन् । त्यहीँ संघर्षले वादी र दलित समुदायले भोग्दै आएको विभेदमा कमी भए पनि पूर्ण रूपमा अधिकार पाउन नसकेको बताइन् ।
सल्यानमा जन्मिएर कर्मथलो सुदूरपश्चिम बनाएकी उमाले समुदायको आत्मसम्मानका लागि गरेको ४८ दिने ऐतिहासिक आन्दोलन र त्यसपछिका उपलब्धिबारे स्मरण गरिन् ।
वादी समुदायको आन्दोलन केवल एउटा जात विशेषको मात्र नभई सम्पूर्ण नेपाली महिलाको आत्मसम्मानको लडाइँ भएको उमाको ठहर छ । त्यहीँ लडाइँकै कारण आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार केवल वादीका लागि मात्र नभई देशका सम्पूर्ण महिला र दलित महिलाहरूको लागि ठूलो उपलब्धि भएको उनको भनाइ छ ।
उनले समाजमा व्याप्त जातीय विभेद विरुद्धको लडाइँमा मात्र होइन, प्रदेशसभा सदस्य भइसकेपछि पनि आफूले विभेद भोग्नुपरेको तीतो यथार्थ सुनाइन् । प्रदेशसभा सदस्य निर्वाचित भएर कानून बनाउने थलोमा पुग्दा पनि जातकै कारण आफूले कोठा भाडा समेत नपाएको उनले बताइन् ।
‘म जनप्रतिनिधि भएकै अवस्थामा समेत ‘वादी’ भएकै कारण मैले कोठा भाडामा पाउन पनि निकै गाह्रो भयो,’ उनले भनिन्, ‘कोठा खाली छ भनेर देखाउने घरबेटीले जब मेरो नाम सुन्थे, अनि कोठा दिन इन्कार गर्थे ।’
वादी भएकैले सभामुखको पहलमा सरकारी कार्यालयको एउटा कोठामा बसेर सदन धाउनुपरेको पीडा उनले सुनाइन् । वादी समुदायलाई हेर्ने परम्परागत दृष्टिकोण संकुचित भएको भन्दै परिवर्तन गर्न जरुरी भएको उनको भनाइ छ । देह व्यापार गर्छन् भन्ने बुझाइका कारण वादी समुदायका महिलाहरुले अहिले पनि सामाजिक अपमान सहनुपरेको उनको भनाइ छ ।
‘सबै वादी महिलाहरू यौन पेशामा छैनन् भन्ने तथ्य समाजले अझै स्वीकार गरेको छैन,’ उनले भनिन्, ‘वादी समुदायको आर्थिक र सामाजिक सुधार गर्न सके मात्र समुदायलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न सकिन्छ ।’
वादी समुदाय भूमिहीन भएर खोलाको किनार, जंगलका ओडारमा बस्नुपरेको भन्दै त्यसका लागि सरकारले गाँस, बास र कपाससँगै शिक्षाको ग्यारेन्टी हुनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया