आलोचनापछि रास्वपामा धमाधम उम्मेदवारी फिर्ता

आलोचनापछि रास्वपामा धमाधम उम्मेदवारी फिर्ता


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवार सूचीको नामहरूमा विवाद उत्पन्न भएपछि उम्मेदवारी नाम फिर्ता लिने क्रम बढेको छ ।

समानुपातिक सूचीमा चर्काे आलोचनापछि रास्वपाका समानुपातिक बन्दसूचीमा परेका ५ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
रास्वपामा भित्रिएका ऊर्जमन्त्री कुलमान घिसिङ र काठमाण्डु महानगरपालिाका मेयर बालेन साहको कोटामा समानुपातिकमा परेकाहरूले धमाधम नाम फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेका प्राध्यापक डा.महेन्द्र लावती, पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

लावती र गुरुङ कुलमान कोटाबाट रास्वपाको बन्दसूचीमा परेका थिए भने ढकाल, शाह र शेर्पा बालेन कोटाका उम्मेदवार थिए ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए । पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा ५ जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।

पाँचथरका प्रा.डा. लावतीले अमेरिकास्थित वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय विकास विषयको प्राध्यापन गर्छन् । नेपालका आदिवासी जनजाति, दलित, मधेसी आदि सीमान्तकृत समुदायको अधिकारका लागि आलेख, कार्यपत्र र पुस्तकमार्फत आफ्ना विचार प्रस्तुत गर्दै आएका लावती अधिकारवादीका रूपमा पनि परिचित छन् ।

मुस्लिम पुरुष क्लस्टरको समानुपातिक सूचीमा नम्बर १ मा रहेका शाहले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उनले जनभावना र पार्टी पंक्तिबाट आएको प्रतिक्रियालाई सम्मान गर्दै सूचीबाट नाम हटाएको उल्लेख गरेका छन् । शनिबार फेसबुकमा उनले लेखेका छन्, ‘जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’ उनले काठमाण्डु–५बाट प्रत्यक्ष निर्वाचन लड्ने पनि बताएका छन् ।

ढकाल फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष हुन् । खेलकुदका साथै पर्यटन तथा हस्पिटालिटी व्यवसाय लागेका उनलाई रास्वापाले समानुपातिक सूचीमा राखेको थियो । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कोटाबाट सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।

गायिका तथा चिकित्सक डा.त्रिशला गुरुङले पनि समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेकी छन् । सिफारिस पाउनु ठूलो सम्मान भए पनि आत्ममूल्यांकनपछि राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेकाले नाम फिर्ता लिएको उनले बताइन् । फेसबुकमार्फत उनले लेखेकी छन्, ‘कलाकारिता र स्वास्थ्य सेवामार्फत समुदायका लागि योगदान दिन प्रतिबद्ध छु । राजनीतिक पदमा नरहँदा पनि समाजको आवाजका रूपमा निरन्तर काम गर्नेछु ।’

फोर्टिन पिक्स एक्सपिडिसनका सीईओसमेत रहेका पर्वतारोही टासी लाक्पा शेर्पाले पनि फेसबुकमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । उनले दलगत राजनीतिमा रुचि नराख्ने उल्लेख गरिन् ।

टासी रास्वपामा हालै प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् । केही दिनअघि मात्रै मिङ्मा औपचारिक रूपमा रास्वपामा आबद्ध भएका थिए ।