काठमाण्डु- नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले तुइन काटेर तुइनबाटै महाकाली तरिरहेका नेपाली नागरिक बेपत्ता भएको घटनालाई सरकारले साम्य पार्ने प्रयत्न गरिरहेको बताए । मंगलबार प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले सो घटनालाई सरकारले साम्य पार्ने प्रयत्न गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘सीमामा यसरी एउटा नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ ।’
निर्दोष नेपाली नागरिकको ज्यान गएको भन्दै घटना अत्यन्तै दुःखद् भएको उनले बताए । साथै उनले उक्त घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छन् । उनले भने, ‘दार्चुला खलंगा सडकलाई राष्ट्रिय गौरवको आयोजनाको सडक घोषणा गरियोस्, त्यस्तै यो घटनाको छानबिनको लागि संसदीय समिति गठन गरियोस् । दोषी एसएसबीका जवानलाई कारबाही गरियोस् । मृतिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइयोस् ।’
उनले गृहसहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएर सरकारले लापरबाही गरेको भन्दै आपत्ति जनाए । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
प्रतिक्रिया