नेकपा ब्यूँताउन माधव नेपालको आह्वान


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउन आह्वान गरेका छन्। शनिबार भक्तपुरमा आायेजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।

उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउन आफू तयार रहेको बताए। उनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउन तयार रहेको बताए।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए। उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिर गरे।

उनले एमाले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए। उनले भने, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैं, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौं, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौं भने हामी एउटा मोर्चा बनाऔं, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौं, सडकमा, संसद्‌मा जनताको आवाज उठाऔं, सरकारमा बसेर पनि राम्रो काम गरौं। हामीले छिट्टै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौं।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताए। उनले राजावादीहरुले टाउको उठाउने कोशिस गरे पनि सफल हुन नदिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement