ऐतिहासिक स्थलमा बसेको एमाले सचिवालय बैठकबाट यी प्रस्ताव पारित

ऐतिहासिक स्थलमा बसेको एमाले सचिवालय बैठकबाट यी प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कम्युनिस्ट राजनीतिको ऐतिहासिक स्थल सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा एमालेको २५औं सचिवालय बैठकले ८ बुँदे प्रस्ताव र प्रतिबद्धता पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक ऐतिहासिक र राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।

बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ । यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।’

एमाले (तत्कालीन माले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औं वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्यांकनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गर्दछ,’ विज्ञप्तिमा छ ।

विक्रम संवत् २०१९ सालमा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौं क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको एमालको दाबी छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ ।’

विक्रम संवत् २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको १९ सदस्यीय सचिवालय बैठक बसेको छ ।