भोलिदेखि एमाले कर्णाली प्रदेश अधिवेशन, ६०४ प्रतिनिधि सहभागी हुने


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ ।

अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

सुर्खेतको सिटी हलमा प्रथम प्रदेश अधिवेशन हुने र अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा उनले भने, ‘अधिवेशनको सबै तयारी पूरा भइसकेको छ, अधिवेशनलाई हामीले ठूलो अवसरका रुपमा लिएका छौं ।’

प्रदेश अधिवेशनमा ६०४ प्रतिनिधि सहभागी हुने तय भएको छन् । जसमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने उनले बताए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये १९५ जना महिला छन् । समावेशी रुपमा १११ जना दलित प्रतिनिधि रहेका जनाइएको छ ।

बुधबार उद्घाटन भएर बिहीबार बन्द सत्र हुनेछ । अधिवेशनबाट १३५ सदस्यीय प्रदेश कमिटी बन्ने अध्यक्ष शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement