संसद् बैठकको पूर्व सन्ध्यामा एमालेको आक्रोश प्रकट


काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेको भन्दै नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोलि आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गतेभित्र गठन गर्ने भनिएको समिति नबनाएको विषयमा हिसाबकिताब हुने जनाएका छन् ।

शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भोलि असोज १४ गते प्रतिनिधि सभाको बैठक बस्दैछ तर सरकार संसद् बैठकलाई द्वन्द्व र मुठभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दैछ । सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसद् बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षीमाथि मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपञ्च चलिरह्यो ।’

उनले लेखेका छन्, ‘असोज ५ पछि धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमतिप्रति सरकारले पूरै धोका दियो । सरकारले दिएको धोकाको साँवा र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

यसअघि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले लामो समय संसद् अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement