एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड भएपछि…


काठमाण्डु- नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सोमवार सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर आक्रोशित बनेर तोडफोड गरेको जनाइएको छ । मतगणनास्थलमा तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् । शाहीलाई एमाले नेता कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

आइतबार भएको एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको जनाइएको छ ।

कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement