काठमाण्डु – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्धको रिट दर्ता गर्ने भएको छ ।
एमालेको रिट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल नेतृत्वको टोली सर्वाेच्च अदालत पुगिसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमालेले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा पठाएको थियो ।
एमालेले कारबाही गरेका १४ सांसदसहितको सनाखतमा निर्वाचन आयोगले पनि नयाँ दल दर्ता गरेको थियो । सभामुखले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुखविरुद्ध रिट हाल्न लागेको हो ।
‘पार्टीले कारबाही गरेर निष्काशन गरेको मान्छेलाई किन कारबाही गरिएन भन्ने मुख्य प्रश्न हो,’ प्रमुख सचेतक भट्टराईले भने, ‘यही व्यहोराको निवेदनसहित अधिवक्ता बाबुराम दाहालसहितको टोली अदालत पुगिसकेको छ ।’




प्रतिक्रिया