सुदूरपश्चिम सरकारमा सहभागी हुन किन ढिलाइ गर्दैछ एमाले ?


धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घ सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दल नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ ।

जेठ ३ गते सोडारीलाई विश्वासको मत दिएको एमालेले अहिलेसम्म सरकारमा जाने विषयमा कुनै छलफल र निर्णय नभएको जनाएको छ । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारमा जाने विषयमा कुनै छलफल र निर्णय नभएको बताए ।

‘सरकारमा जाने विषयमा पार्टीमा कुनै छलफल र निर्णय भएको छैन,’ दलका नेता रावलले काठमाण्डुपार्टीसँग भने, ‘पार्टीका नेताहरू बाहिर भएर छलफल हुन पाएको छैन । नेताहरू आएपछि छलफल गरेर निर्णय लिन्छौँ ।’

सरकारमा सहभागी नभए पनि सरकारलाई साथ र समर्थन दिइरहेको रावलले जानकारी दिए ।

आर्थिक वर्षको बजेट ल्याउने बेला भइसक्यो, मुख्य पार्टी नै नसकारमा सहभागी नभएर हुन्छ त ? भन्ने काठमाण्डुपार्टीको प्रश्नमा पूर्व मुख्यमन्त्री समेत रहेका राववले भने, ‘सरकारमा नभए पनि हामीले सरकारले बजेटबारे पूर्ण सहयोग र समर्थन गरिरहेका छौँ । आज नै पनि हामीले प्रिबजेट छलफल गरेका छौँ ।’

एमालेले जेठ २ गते सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसबेला बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । त्यही अनुरुप ३ जेठमा सोडारीले विश्वासको मत लिएका थिए ।

एमालेकै समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement