काठमाण्डु – नेकपा (एमाले) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराएको छ। एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी शुक्रबार संसद् सचिवालयलाई जानकारी गराएका हुन् ।
एमालेले अब बस्ने संसद् बैठकमा प्रतिपक्षमा बस्ने जानकारी सूचनामा गराएको छ ।
‘पुष्पकमल दाहाल‘‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ बर्तौलाले सूचनामा लेखेका छन्, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’
१७ असारमा एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो। एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन्।
प्रधानमन्त्री दाहालले भने राजीनामा नदिने संसद्मा विश्वासको मत लिने बताउँदै आएका छन् ।




प्रतिक्रिया